सिंहदरबार भद्रकालीको पूर्व, कालिकास्थानको दक्षिण, अनामनगरको पश्चिम र बबरमहल दरबारको उत्तरमा रहेको दरबार परिसर, आँगन, बगैंचा र भवनहरूको विशाल दायरा हो । ऐतिहासिक दस्तावेजहरुका अनुसार सिंहदरबार चन्द्र शमशेर जबराले सन् १९०८ मा निर्माण गरेका थिए । भनिन्छ यो दरबार सन् १९५० सम्म विश्वकै सबैभन्दा उत्कृष्ट र भव्य दरबारहरू मध्ये एक थियो । शुरुमा निजी निवासको रुपमा निर्माण गर्न लागिएको सिंहदरबार बनाउँदै गर्दा ठूलो भएपछि प्रधानमन्त्रीको सरकारी निवासका लागि सरकारले किनेको थियो भन्ने इतिहासमा पढ्न पाइन्छ । यो दरबार काठमाडौंको मध्यभागमा छ जसको दक्षिणतिर बबरमहल छ भने पश्चिममा भद्रकाली माताको मन्दिर अवस्थित छ । यसको इन्जिीनियरिङ्ग गर्ने काम कुमार नरसिंह र किशोर नरसिंह राणाले गरेका थिए भनिन्छ । सिंहदरबारको आन्तरिक निर्माणमा वास्तुकलाको अद्वितीय संयोजन छ यद्यपि यस आलेखमा हामीले सिंहदरवारको आन्तरिक वास्तुको विषयमा कुनै प्रसंग उठाएका छैनौं केवल पर्यावरणीय अर्थात् बाहिरी वातावरणका आधारमा सिंहदरवार परिसरलाई अवलोकन गर्ने प्रयाश गरेका छौं ।
सिंहदरबारको पूर्वमा अनामनगर, दक्षिणमा बबरमहल, पश्चिममा भद्रकाली र उत्तरमा कालिकास्थान क्षेत्र पर्दछ । वास्तुशास्त्र अनुसार सिंहदरबारको बाहिरी वातावरण अवलोकन गर्दा पूर्व र पश्चिममा खोला रहेको पाइन्छ । तर अनामनगर क्षेत्रमा ठूलो बस्ती बिस्तार भएपछि पूर्वतिरको खोलाको प्रभाव सिंहदरबारले पाउन सकेको छैन भने पश्चिमको खोला पनि लुप्त बनेको छ । दक्षिणमा रहेको बबर महल दरबार पनि सिंहदरबारको तुलनामा कम प्रभावी रहेको छ । यसले दक्षिणको साथ र सपोर्ट कमजोर छ भन्न सकिन्छ ।
सिंहदरबारको चारैतिर बाटो छ । विश्वकर्मा प्रकाश तथा समराङ्गण सुत्राधार ग्रन्थहरुका अनुसार दरबारको चारैतिर सडक शुभ मानिन्छ । तर भूमि ढलानका अनुसार यसको दक्षिणी भागको तुलनामा उत्तरी भाग अग्लो छ । जसरी नेपालको उत्तरी भाग अग्लो छ त्यसरी नै सिंहदरबारको उत्तरी भाग पनि केही अग्लो रहेको छ । वास्तुका अनुसार उत्तर पूर्वको भाग तल हुनु राम्रो मानिन्छ ।
सिंहदरबारको चारैतिरका बाटाहरुले वास्तुअनुसार फरक फरक प्रभाव दिइरहेका छन् । पश्चिमको बाटो पुतलीसडकदेखि माइतीघरसम्म सिधा छ । माइतीघरबाट हनुमानस्थानसम्मको बाटो केही दक्षिण पूर्वतिर लच्केको छ । त्यसरी नै हनुमानस्थानबाट घट्टेकुलो मोडसम्मको पूर्वसडक क्रमशः पश्चिमतिर च्याँपिदै आएको छ भने घट्टेकुलो चोकदेखि पश्चिम लागेको सडक पुतलीसडक पुग्दा केही उत्तरपश्चिम बढ्न खोजेको छ । वास्तु विज्ञानले चारैतिरका सडकहरु ९० डिग्रीको कोणमा भएमा अतिशुभ मान्छ ।
सडक कताबाट ठोकिएको छ भन्ने अर्को महत्वपूर्ण पक्ष हुन्छ । सिंहदरबारमा पश्चिमी भागमा ‘टि’ बनेको छ । वास्तुशास्त्रले सडकको यो ‘टि’ अवस्थालाई सकारात्मक मान्दैन । त्यसरी नै थापाथलीबाट आउने सडक नैऋत्यमा ठोकिएको छ । पश्चिमको सकारात्मक प्रभावलाई भद्रकालीबाट आउने सडकको प्रभावले कमजोर बनाएको देखिन्छ ।
आग्नेय भाग केही बृद्धि भएको सिंहदरबार परिसरमा नैऋत्य भाग कम भएको देखिन्छ । नैऋत्यमा सबैभन्दा मजबुत भवन या निर्माण हुनुपर्ने वास्तुशास्त्रीय विधान भए पनि यहाँ त्यसो हुनसकेको देखिँदैन । ईशान कोण मजबुत हुनुपर्नेमा कमजोर भएको देखिन्छ । अझ पछिल्लो समयमा उत्तर ईशानमा विभिन्न निर्माणहरु भइरहेका छन् । दरबारको पूर्वको भाग केही ओरालो भएकोले पूर्वी उर्जामा केही सकारात्मक छ । तर दरबारको पूर्वी ढोका प्रायः बन्द रहन्छ । अधिकतम् प्रयोगमा ल्याइनुपर्ने ढोका बन्द भइरहनु वास्तुशास्त्रले सकारात्मक मान्दैन ।
सिंहदरबारभित्र छिर्ने सडकहरु पूर्वी गेट वास्तुपुरुषको सूर्य उर्जा क्षेत्रमा परेको छ । यसक्षेत्रको प्रवेशद्वारले नियन्त्रकको भूमिका खेल्छ । प्रमुख या कार्यकारी भूमिकाकालागि यो प्रवेशद्वार उत्तम मानिन्छ । जुन प्रवेशलाई कार्यकारीले प्रयोग गर्नु अति उत्तम मानिन्छ । दक्षिणी गेट पुषा देवतामा परेको छ । यो स्थान बलबृद्धिकारक मानिन्छ । यसमा सडक सुरक्षा र पुनर्ताजगीका कार्यालय उत्तम मानिन्छ । पश्चिम गेट अशुर र बरुण देवतामा पर्दछ । यहाँको प्रवेशद्वारले गुप्तचरहरुको सक्रियता बढाउँछ । तर मालिकलाई सहि सूचनाबाट बञ्चित गराउन सक्छ । असुर अर्थात् राहुको सक्रियताले मालिकलाई भ्रमित बनाउने खतरा रहन्छ ।
नयाँ बन्दै गरेको प्रवेश अधिकांश भाग जयन्त देवतामा परेको छ । यो प्रवेश सकारात्मक नै देखिन्छ । वास्तुशास्त्रहरुका अनुसार यो स्थान प्रवेश भएकोले लक्ष्य प्राप्तिमा सफल र कुशल प्रस्तोता बनाउँछ । यद्यपि पछिल्लो समयमा सिंहदरबारको उत्तरी क्षेत्रमा बनाइएका विशाल भवनहरुका कारण दरबारलाई थप समस्याहरुको सामना गर्नुपर्ने वास्तुशास्त्रीय मान्यता छ । बाहिरबाटै उत्तरी क्षेत्रमा विशाल र राता भवनहरु देखिन्छन् । सरकारले गरेका काममा प्रश्न उठाउन खोजेको नभई वास्तुशास्त्रीय दृष्टिमा बाहिरी अबलोकनमात्र भएको स्मरण गराउन चाहन्छौं । यसको विस्तृत अध्ययन गर्ने अवसरको पर्खाइमा छौं ।