रोगी या चिकित्सक एउटै चन्द्रमाको अवस्थाले निर्धारण गर्छ

trendingproducts

चन्द्रमा नवग्रह मध्येको दोश्रो ग्रह हो । वैदिक ज्योतिषमा चन्द्रमालाई मन, माता, व्यक्तिको मानसिक अवस्था, धनको अवस्थाका रुपमा हेरिन्छ । खासगरी यात्रा, सुख–शान्ति, धन–सम्पदा, रगत, बाँया आँखा तथा छाती र घरायसी सुखलाई चन्द्रमासँग जोडेर हेरिन्छ । रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमाको आफ्नो राशी कर्कट हो । आकासमा प्रत्यक्ष सबैले देख्ने चन्द्रमा पृथ्वीबाट नजिकको सबैभन्दा सानो ग्रह हो । यसको गति अत्यन्तै तीव्र हुन्छ । यसले लगभग सवा दुईदिनमा एक राशीको भ्रमण पुरा गर्छ । यसलाई मानिसको मनसँग जोडिएको छ भने यसैका आधारमा ज्योतिष शास्त्रले व्यक्तिको जन्मदेखि मृत्युसम्मको ग्रहहरुको क्रमांक तय गरेको छ ।

ज्योतिष शास्त्रले चन्द्रमालाई शुभ ग्रहका रुपमा लिएको छ । सूर्य पिता र चन्द्रलाई माताको रुपमा विश्लेषण गरिएकोले यो एक स्त्रीकारक ग्रह हो । जो पृथ्वीको नजिक भएकोले पनि यी दुईबीच अत्याधिक चुम्बकीय शक्तिले काम गरेको हुन्छ । विज्ञानले सामुद्रिक क्षेत्रमा आउने ज्वारभाटाहरुलाई चन्द्रमाको निकटतासँग जोडेको पाइन्छ भने ज्योतिष शास्त्रले चन्द्रमालाई जलको कारक मान्छ ।

माथि उल्लेख गरे झै चन्द्रमा मनको कारक भएकोले हरेक मानिसको मानसिक अवस्था र उसको चरित्रका बारेमा ज्योतिषीहरु यसैका आधारमा विश्लेषण गर्छन् । किनकि सकारात्मक र नकारात्मक भाव मनबाट उत्पन्न हुन्छ । मनको स्थितिले उसको सोच र सोच अनुसारको कर्म निर्धारण हुने हुँदा चन्द्रमाको शुभाशुभ अवस्थाका आधारमा मानिसको चरित्र अनुमान थाहा हुन्छ । वृष राशीमा सबैभन्दा उच्च हुने चन्द्रमा कर्कट राशीमा पनि सकारात्मक हुन्छ । अन्य राशीहरुमा उसको अन्य शुभग्रहहरुसँगको सम्बन्धका आधारमा शुभाशुभ विश्लेषण गरिन्छ । यो आफैमा राजसी ग्रह पनि हो । यसले जन्मसमयमा लिएको नक्षत्र र त्यसको स्वामीको अवस्थाका आधारमा पनि स्वभावमा फरक ल्याउँछ ।

राजसी स्वभावका तीन ग्रह सूर्य, चन्द्रमा र बुधमध्ये सूर्य राजा, चन्द्रमा रानी र बुधलाई राजकूमारको पदवी ज्योतिष शास्त्रले दिएको छ । सामान्य हिसाबमा कसैसँग शत्रुता नराख्ने चन्द्रमा बृष राशीमा उच्च भएजस्तै बृश्चिक राशीमा निच मानिन्छ । सेतो रंग, वैश्य जातीको कारक चन्द्रमा चौथो भावमा दिशावल प्राप्त गर्दछ भने कुण्डलीमा ३, ६, ७, १० र ११ भावमा शुभकारक हुन्छ । राशीफल तयार गर्दा चन्द्रमालाई नै आधार मानेर गरिने हुँदा जन्मँदा रहेको स्थानबाट ४, ८ र १२ भावमा गोचर गर्दा अशुभ फलदायक मानिन्छ । लगभग २७ दिनमा पृथ्वीको एक चक्र पुरा गर्ने चन्द्रमा सूर्यको दुरीका आधारमा बलसाधन गरिन्छ । त्यसैले सूर्यसँग एकै रेखामा हुँदा ग्रहण लाग्ने तथा नजिक हुँदा अमावश्या र टाढा हुँदा पूर्णिमाको अवस्था आउने गर्छ । सूर्यबाट अगाडी बढ्दै जाँदा शुक्लपक्ष र सूर्य तर्फ जाँदै गर्दा कृष्णपक्षको नामाकरण गरिएको छ । यसैका आधारमा चन्द्रमाको पक्षबल निकालिन्छ ।

कृतिका, रोहिणी, अश्लेषा, उत्तरफाल्गुनी, हस्ता, ज्येष्ठा, उत्तरषाढा, श्रवण र रेवती राजसी नक्षत्र भएकोले यसमा रहेको चन्द्रमालाई सकारात्मक बल मिल्छ । त्यसैगरी पुनर्वसु, विशाखा, पूर्वभाद्रपद नक्षत्रमा यसलाई गुरुको सौम्यता मिल्छ । यदि तामसी ग्रहहरु शनि, मंगल, राहु र केतु ग्रहका नक्षत्रमा रहेको चन्द्रमालाई शुभग्रहहरुको दृष्टिआदिका आधारमा शुभाशुभ निर्णय गरिन्छ । पाप ग्रहका नक्षत्रमा पाप ग्रहकै युति तथा दृष्टि भएमा चन्द्रमा पीडित हुन्छ । पीडित चन्द्रमा मानिसको मानसिक अवस्थामा प्रत्यक्ष प्रभाव पार्छ । त्यस्तो अवस्थामा रिसाहा, मानसिक रोगी, डिप्रेशनसम्म आउन सक्छ भने छाती, फोक्सो, तथा रक्त विकारसँगै क्यान्सरसम्मको दुर्भाग्य आउनसक्छ । शनिसँगको चन्द्रमालाई विषयोग, राहु केतुसँगको चन्द्रमा ग्रहण योग तथा यदि चन्द्रमाको अघि र पछिको राशीमा कुनै पनि ग्रह नभए केमद्रुम योग बन्छ । यसले चन्द्रमा पीडित हुन्छ भने बृहस्पतिसँगको चन्द्रमाले गजकेसरी योग बनाउँछ । तर यी योगहरुकै आधारमा मात्र फलादेश गर्न भने मिल्दैन । अनफा, सुनफा, चन्द्राधी योग, उच्च, मूलत्रिकोण, मित्र राशी, समराशी लगायत अन्य ग्रहहरुसँगको योगायोग केलाएर मात्र फलादेश सहि सावित हुन्छ ।

चन्द्रमा खान पानको पनि कारक ग्रह हो । कालपुरुषको दोश्रो भाव वृष राशीमा उच्च हुने हुँदा यहाँ रहेको चन्द्रमा उच्चको हुन्छ । उच्चको चन्द्रमा दोश्रो भाव शुभ अवस्थामा छ भने यसले मानिसको खान पानमा सकारात्मकता ल्याउँछ । वाणीमा सौम्यता दिन्छ भने धनसमृद्धिको बृद्धि गर्छ । तर यदि यही भावमा नकारात्मक चन्द्रमा छ भने वाणीमा नकारात्मकता, अभक्ष बस्तुको सेवन गर्ने लागु पदार्थ सेवन गर्नेसम्मको अवस्था ल्याउँछ । यस्तो अवस्थामा चन्द्रको अवस्था सुधारको उपाय अवलम्बन गरी सकारात्मकता ल्याउन जरुरी हुन्छ ।

अचम्मको कुरा के छ भने उस्तै उस्तै भाव र अवस्थामा रहेको चन्द्रमाले कसैलाई लागुऔषध व्यापारी बनाउँछ भने कसैलाई लागु पदार्थ सेवन गर्ने बनाउँछ । यहाँसम्म कि उही अवस्थाको चन्द्रमा लिएर जन्मेको एउटा व्यक्ति मानसिक रोगी बनेको हुन्छ भने अर्को मानसिक रोगको चिकित्सक बन्छ । एउटा चिकित्सक र एउटा रोगीको कुण्डलीमा चन्द्रमाको सतही अवस्था उस्तै उस्तै देखिए पनि व्यक्तिले चन्द्रमाको कारकत्वलाई कसरी प्रयोग गर्छ र गरेको छ भन्ने कुराले फरक पार्छ तसर्थ योग्य ज्योतिषीको सल्लाह लिएर चन्द्रमाको उपाय अपनाउनु राम्रो हुन्छ । कमजोर चन्द्रमालाई विभिन्न रत्न, मन्त्र जाप एवं पुजा हवनादिबाट शुभ बनाउन सकिन्छ ।

Discover Interests