पारपाचुकेको समस्या

trendingproducts

हरेक घटनाको पछाडि केही न केही कारण अवश्य हुन्छ । विना कारण कुनै घटना या प्रतिक्रिया हुँदैन । पछिल्लो समयमा नेपालमा दाम्पत्य जीवन टुटाउने अथवा पारपाचुके गर्नेहरुको तथ्याङ्क डरलाग्दो बन्दै आएको छ । २०७९ सालमा मुलुकका अदालतमा दर्ता भएका कुल मुद्दाहरुमध्ये पारपाचुकेका मुद्दा सबैभन्दा बढी छन् । आव २०७९–८० को अदालती तथ्याङ्क हेर्दा ३७ हजार ४ सय ३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएको देखिन्छ भने २७ हजार ७८ वटाले पारपाचुके पाइसकेकाछन् । नेपालको पारिवारिक विखण्डन डरलाग्दो रुपमा बढ्दैछ भन्ने प्रमाण हो यो ।

ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा सम्बन्ध विच्छेदको अवस्था झन् चर्को छ । काठमाडौं जिल्ला अदालतमा मात्रै ५ हजारबढी पारपाचुकेका मुद्दा दर्ता भएको देखिन्छ । यसले हाम्रो पारिवारिक जीवन कता जाँदैछ भन्ने डरलाग्दो अवस्था सिर्जना गरेको छ । यो केवल श्रीमान् श्रीमतीको समस्यामात्र होइन । यसले सिंगो परिवार पीडित हुन्छ, हरेक सदस्यमा मानसिक तनाव हुन्छ । सामाजिक जीवनसमेत तहसनहस हुन्छ । परिवार परिवार नभएर समस्याको कारण बन्न थाल्छ । शब्दकोष अनुसार परिवारको परिभाषामा एउटै पिता–पुर्खाका सन्तानहरूको समूह, सामूहिक गुण वा स्वभावले गर्दा सम्बन्धित व्यक्तिहरूको समूह, एउटा नेतृत्व वा घरको छानामुनि बसोबास गर्ने व्यक्तिहरूलाई जनाउँछ । जहाँ माया, प्रेम, सद्भाव र सम्मान जोडिएको हुन्छ ।

विवाहको महत्व र वैदिक विधान

विवाहले दुईजनाको सम्बन्ध स्थापित गर्छ । यो केवल पति–पत्निको मात्र सम्बन्ध जस्तो देखिए पनि वास्तवमा त्यस्तो भने हुँदैन । विवाहपछि परिवारमा एउटा नयाँ सम्बन्ध थपिन्छ । दुई फरक फरक परिवारबीच सम्बन्ध जोडिन्छ । सद्भाव, स्नेह, माया र विश्वास जोडिन्छ । श्रीमान श्रीमतीबीचको सम्बन्ध टुट्यो भने अन्य सम्पूर्ण सम्बन्धहरु आफै सकिन्छन् । जसले व्यक्तिगत जीवनसँगै सामाजिक जीवनमा नकारात्मक असर पर्छ । दाम्पत्य जीवनमा हुने समस्याका विविध कारणहरु हुन्छन् यद्यपि वैदिक शास्त्रहरुले सुखद दाम्पत्य जीवनकालागि विवाह गर्नुअघि, विवाहको समयमा र विवाहपछिका विधि र नियमहरु व्यवस्थित गरेका छन् ।

दाम्पत्य जीवन बिग्रन नदिन विवाहअघि नै जोडीको कुण्डली मिलान गर्ने व्यवस्था छ । पछिल्लो समयमा केवल शारीरिक आकर्षणका आधारमा प्रेममा पर्ने र विवाह गर्ने चलन बढेको छ । हतारमा विहे गर्ने र फुर्सदमा पछुताउदै पारपाचुकेसम्म पुग्ने गरेको अवस्था छ । कुण्डली मिलान गरेर विवाह गर्ने वैदिक विधि अवलम्बन गर्दा गलत जीवनसाथी पर्दैन र दाम्पत्य जीवन सहज रुपमा चल्छ भन्ने विश्वास छ ।

विवाहअघि कुण्डली मिलान र शुभ मुहुर्तको लग्नमा विवाह गर्ने विधानलाई पछिल्लो समयमा वेवास्ता गर्ने गरेको पाइन्छ । विवाहमा शुभ मुहुर्त लग्नको वेवास्ता गर्दा त्यसको परिणाम नकारात्मक हुन्छ भनेर नै वैदिक शास्त्रहरुले विवाह लग्नको व्यवस्था गरेका हुन् । तर यसको अनुश्चरण कमजोर बन्दैछ । फलतः दाम्पत्य जीवन हकको लडाईंमा परिणत बनिरहेको छ । श्रीमान्–श्रीमती आफ्नो कर्तव्य नबुझ्ने केवल अधिकार र समानताको कानुन बुझ्ने अवस्था सिर्जना भएको छ ।

वैदिक विधानले विवाहले नारी र पुरुषलाई एक बनाउँछ र दुई शरीर एक प्राणको रुपमा अघि बढाउँछ भन्ने मान्यता राख्छ । एक अर्कामा माया, प्रेमसँगै सम्मान र भरोसा हुनुपर्छ भन्छ । वैदिक विधि अनुसारको गरिने विवाहमा पहिले नै जोडीहरुबीचको सन्तुलन मिलाइने भएकोले दाम्पत्य जीवनमा कमै समस्या आउँछ । दम्पतीमा हुने साना साना मनमुटाव पनि अल्पकालीन हुन्छ । त्यसैले ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने प्रचलन स्थापित भएको होला ।

वास्तु र समस्या

श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव ल्याउने महत्वपूर्ण कारण घरको वास्तुदोष पनि हुनसक्छ । वास्तुदोषले दुईजनाबीच असमझदारीका कारणहरु सिर्जना गर्छ । मानिस अधिकांश समय घरमा बस्छ । त्यसैले घरमा वास्तुदोष छ भने केही न केही नकारात्मक परिणाम उत्पन्न भइरहन्छ । जसले पारिवारिक जीवन प्रभावित हुनसक्छ । घरको वास्तुदोषले आर्थिक तनाव सिर्जना गरेको छ भने सम्बन्धमा नकारात्मकता ल्याउन सक्छ । अवसरहरु बन्द भएका छन् भने उपलब्धी हात लाग्दैन । जसरी कुनै एउटा ठाँउको वास्तुदोषका कारण आर्थिक पक्ष कमजोर बन्छ त्यसरी नै अर्को स्थानको दोषले यौन क्षमतामा ह्रास ल्याउँछ ।

शयनकक्षको गलत अवस्थाले पनि दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पार्छ । शयनकक्ष सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले दम्पतीबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । विवाहित जोडीले दक्षिणतर्फ सिरानी पारेर सुत्नुपर्छ । जसले दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा प्राप्त हुन्छ । दम्पतीको शयनकक्षमा ऐना नभएको राम्रो । छ भने ओछ्यानको ठिक सामुन्ने पार्नुहुँदैन भने पलङ्ग शुद्ध काठको हुनुपर्छ । कुनैपनि धातुको पलङ्गले दाम्पत्य जीवनमा नकारात्मक असर पार्छ । शयनकक्षमा हल्का रङको प्रयोग गर्नुपर्छ । वास्तु विज्ञानका अनुसार दाम्पत्य जीवनमा आपसी प्रेम तथा सद्भाव कायम राख्न पत्नी पतिको बायाँतर्फ सुत्नुपर्छ । किनकि पत्नीलाई पतिको बायाँ अंग मानिन्छ ।

वास्तु विज्ञान र सफल दाम्पत्य जीवनका उपाय

पति–पत्नीमा सबैभन्दा महत्वपूर्ण पक्ष यौन जीवन हो । यौनइच्छाको कमीका कारण अधिकतम् दम्पती तनावमा रहन्छन् । यस्तो समस्या छ भने केही समय दक्षिण पूर्व दिशाको कोठामा सुत्नुपर्छ । यो दिशा अग्निकारक दिशा हो । यहाँ सुत्दा दाम्पत्य जीवनप्रति उत्साह तथा उर्जाको प्राप्त हुन्छ । यदि अधिक यौनइच्छा हुनेहरु भने यसक्षेत्रमा सुत्नुहुँदैन । वास्तु विज्ञानका अनुसार उत्तर पश्चिम दिशाको शयनकक्ष पति–पत्नी र सन्तान सुखका लागि पनि उत्तम हुन्छ ।

वास्तु विज्ञानले घरको वास्तु परिक्षण र उपायबाट दाम्पत्य जीवनमा सुधारका ल्याउन मद्दत गर्छ । उमेर, अवस्था र आवश्यकताका आधारमा दम्पत्तीको शयनकक्ष निर्धारण गर्नु पहिलो आवश्यकता हुन्छ । समस्या छ भने राती पत्निले पतिको तकिया मुनि सिन्दुर राखी बिहान सिन्दुरको उपाय गर्ने गर्दा लाभ हुन्छ । दाम्पत्य जीवनलाई सुखमय बनाउनका दुधको प्रयोग उत्तम र सजिलो विधि हो । पति पत्नीबीच सधैं झगडा परिरहन्छ भने घरको सफाइमा नूनको प्रयोग गर्दा नकारात्मक शक्तिबाट जोगिन सकिन्छ ।

वास्तु विज्ञानले दाम्पत्य जीवनका समस्या समाधानकालागि शयनकक्षका तस्वीरहरुको अवस्था, ऐनाको अवस्था, देवी देवताका मूर्ति या तस्वीरहरुको अवस्था, विद्युतीय उपकरण, जुता–चप्पल लगायतका सामग्रीहरुको अवलोकन गरी वास्तुदोष निवारण गर्न सुझाउँछ । वास्तुदोष थाहा भएर वा नभएर त्यसको प्रभावबाट जोगिन सकिंदैन । माने पनि नमाने पनि वास्तुदोष छ भने समस्या र उत्तम वास्तु छ भने शुभ प्रभाव आउँछ नै ।

निश्कर्ष

मानव जीवनमा दाम्पत्य जीवन अत्यन्तै महत्वपूर्ण पक्ष हो । जीवनको अति नै उर्बर समयमा प्राप्त हुने र अन्त्यसम्म जीवन खुशी र सुखी राख्ने दाम्पत्य जीवन खराब भयो भने सिंगो जीवन निरस हुन्छ । शारीरिक सुख, मानसिक शान्ति र उर्जाशील जीवनकालागि दाम्पत्य सुखले सबैभन्दा बढी महत्व राख्छ । दाम्पत्य जीवन बिग्रनुमा धेरै कारणहरु हुनसक्छ । कुनै पनि एउटा कारण बन्नुका पछाडि पनि कारण हुन्छ । जन्मँदा ल्याएको भाग्य, हाम्रो वरिपरिको वातावरण अथवा वास्तु र हाम्रो कर्मका आधारमा विभिन्न सुखद् र दुखद् घटनाहरु उत्पन्न हुन्छन् । त्यसैले जीवनमा आफ्नो भाग्य बदल्न संभव छैन तर कर्म र वास्तु बदल्न सकिन्छ । घरको खराब वास्तुदोष निवारण गरौं, कर्ममा शुद्धताको प्रयाश गरौं । यसो गर्दा सम्बन्ध विच्छेद होइन, सम्बन्ध बिगार्ने तत्वलाई जीवनबाट विच्छेद गर्न सकिन्छ ।। समस्याको जड् पत्ता लगाएर निवारण खोज्न वास्तुविद्सँगको परामर्श लाभदायक हुनसक्छ ।

Discover Interests