यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको विषयमा उल्लेख भएको पाइन्छ । शिल्पशास्त्र वा स्थापत्य वेद भनेको नै वास्तुशास्त्र हो । वास्तुशास्त्रले भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको बारेमा व्याख्या गर्दछ । जुन प्राचीन विज्ञान हो । वास्तुशास्त्र वा शिल्पशास्त्रलाई देवशिल्प र मानवशिल्प गरी दुई भागमा बाँडिएको छ । देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि र मानवशिल्पमा निवासयोग्य भवन निर्माणको विधि उल्लेख छ ।
घर मानिसको जीवनको पहिलो आधार हो । जहाँबाट उसले जीवनका लक्ष्य र उद्देश्यहरु तय गर्छ । घरको वातावरण जति प्रेमपूर्ण, भावनात्मक र सहयोगी हुन्छ मानिस लक्ष्य र उद्देश्यहरुप्रति त्यति सशक्त बन्नसक्छ । शुभ वास्तुले परिवारमा एकता, विश्वास, प्रेम र सद्भाव छ भने त्यस्तो घर ऊर्जाशील हुन्छ । शान्ति, एकता, विश्वास र परस्पर सद्भावपूर्ण पारिवारिक वातावरण भएमा मानिस शारीरिक र मानसिक रुपले तन्दुरुस्त पनि रहन्छ । घरमा वास्तुदोष छ भने धनसम्पत्ति भएर पनि पारिवारिक सद्भाव, प्रेम र स्नेह नहुनसक्छ । मानिसकालागि धन, सम्पत्ति र समृद्धि अनिवार्य हो तर वास्तुदोष भएको घरमा धन सम्पत्ति भएर पनि पारिवारिक बेमेल, शारिरीक या मानसिक तनाव, सामाजिक प्रतिष्ठामा गिराबट आउन थाल्छ ।
मानिसमा आपसी सद्भाव अनिवार्य हुन्छ । परिवारमा ठूलाले सानोलाई माया गर्ने र सानोले ठूलोलाई आदर सम्मान गर्ने वातावरण हुनुपर्छ । घरभित्र बेमेल छ भने सामाजिक बेमेल शुरु हुन्छ । किनकि घरपरिवारमा मिलेर बसेको व्यक्ति समाजमा पनि मिलेर बस्न सक्छ । वास्तुअनुसार घरको दक्षिण दिशामा नकारात्मक तत्व छ भने व्यक्तिको सामाजिक प्रतिष्ठामा ठेस लाग्न थाल्छ ।
हरेक मानिसले सम्पन्न, समृद्ध र सम्मानपूर्ण वातावरण खोजी गरिरहेको हुन्छ । हरेक आवश्यकताहरुलाई पुरा गर्दै सामाजिक हैसियत निर्माणमा तल्लीन हुन्छ । परिवारको खुसी, एकता र उन्नतिकालागि निरन्तर लागिरहन्छ । तर सबै मानिस आफ्नो लक्ष्यमा सफल हुन सकिरहेका हुँदैनन् । घरको उत्तरी क्षेत्रमा वास्तुदोष छ भने अवसरहरु आउन छोड्छ । जहाँ अवसर नै छैन त्यहाँ सफलता आउने कुरै भएन ।
घरभित्रको प्राण भनेको त परिवारको समग्र खुशी हो । घर तृप्तिको आधार हो । घरभित्रको सुखद् वातावरणले हाम्रा इन्द्रियहरुलाई शान्ति दिन्छ । सफलता दिन्छ र सामाजिक प्रतिष्ठा दिन्छ । हामी सबैलाई शान्त, सुखद् र आनन्दित घर मनपर्छ । यी सबै सुविधा भएको घर त्यतिखेर बन्छ जतिबेला घरमा वास्तुदोष हुँदैन ।
वास्तुको विचार नगरी बनाइएको संरचनाले विभिन्न समस्याहरु सिर्जना गर्छ । घरको शिलान्यास गर्ने बेलादेखि नै जग्गाको शुद्धता जाँच गर्नुपर्छ । घर निर्माण गर्दा वास्तु सिद्धान्तका आधारमा तत्वहरुको सन्तुलनलाई व्यवस्थित गर्नु अनिवार्य हुन्छ । वास्तुशास्त्रको सिद्धान्त अनुसार बनाएको घरले त्यस घरमा निवास गर्नेलाई समग्र क्षेत्रमा सफलता दिलाउँछ ।
ख्याल राख्नुपर्ने कुरा कुनै पनि संरचना निर्माण गर्दा पूर्व तथा उत्तर दिशाको भाग खुल्ला र होचो हुनुपर्दछ । पश्चिम तथा दक्षिण दिशाको भाग भने अग्लो हुनु नै राम्रो हुन्छ । इशान दिशालाई देवताको दिशा मानिन्छ । त्यसैले यस दिशामा देवताको पूजाआजा गर्ने ठाउँ बनाउनु पर्दछ । अध्ययनका लागि पनि इशान दिशा नै प्रयोगमा ल्याउनु राम्रो हुन्छ । यस दिशालाई सकेसम्म सफा, हलुका र खाली राख्नुपर्दछ ।
वास्तुशास्त्र प्रकृति, वातावारण र ऊर्जाको उचित व्यवस्थापन हो । पृथ्वी, जल, वायु, अग्नि र आकाशजस्ता पञ्चतत्वको विशेष भूमिका रहन्छ । वास्तुशास्त्र अनुसार जमिनको हरेक भागमा फरकफरक ४५ देवताको बास हुने भएकोले प्रकृति, तत्व र देवताको स्थानका आधारमा निर्माण गरिनुपर्छ । मुख्य प्रवेश, शयनकक्ष, भान्सा कोठा, पूजा कोठा, शौचालय, सिँढी आदिको व्यवस्थापन वास्तुसम्मत गरिनुपर्छ । इशानमा पूजा कोठा, आग्नेयमा भान्छा कोठा, नैऋत्यमा प्रधानशयन कक्ष सर्वमान्य वास्तु सिद्दान्त हो ।
त्यसरी नै स्थान विशेषको आधारमा रङहरुको प्रयोग मिलाउनुपर्छ । दक्षिणमा रातो, नैऋत्यमा खैरो, पूर्वमा सेतो र उत्तर–पूर्वमा हरियो तथा पहेँलो रङ शुभ मानिन्छ । आग्नेय, दक्षिण, नैर्ऋत्य, पश्चिम र वायव्य दिशामा खाल्डो बनाउनुहुँदैन भने मध्यस्थानमा सकेसम्म खाली राख्नु राम्रो हो ।
भनिन्छ घर जीवनमा एक पटक बनाइन्छ । त्यसैले घर बनाउनु अघि वास्तुशास्त्रीय विधिलाई अवलम्बन गर्नु बुद्धिमानी हुन्छ । यदि यसो गरिएन भने उक्त घरमा नकारात्मक उर्जाको प्रभाव देखिन थाल्छ । जसले त्यहाँ निवास गर्नेको जीवनमा नकारात्मक प्रभावहरुका संकेतहरु आउन थाल्छ । दुखले बनाएको घर घर जस्तो नभई समस्याको जड बन्ने खतरा हुन्छ ।
वास्तुशास्त्रको पालना गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ । जुन घरमा वास्तु विज्ञान अनुसार वातावरण, प्रकृति र पञ्चतत्वको समुचित सन्तुलन छ त्यहाँ सुख, समृद्धि र आनन्द हुन्छ । त्यसैले घरलाई घरजस्तो बनाउन वास्तुशास्त्रीय मान्यतालाई अवलम्बन गरौं, घरमा वास्तुदोष भए नभएको अवलोकन गराई उचित उपचार गरी घरलाई सुख, समृद्धि र आनन्दको केन्द्र बनाऔं ।