वास्तुमा भूमि छनौट

trendingproducts

वास्तुशास्त्रको विषयमा चर्चा गर्दा भूमि सबैभन्दा महत्वपूर्ण हुन्छ । भूमिमा नै मानिसको निवास हुने हुनाले सर्वप्रथम उचित भूमिको चयन अनिवार्य हुन्छ । सबैप्रकारका निर्माण भूमि मै हुने हुनाले प्रथमतः शुभ वास्तुकालागि भूमि नै शुद्ध र उर्जावान हुनु अत्यावश्यक हुन्छ । भूमिमामात्र निर्माण आदि हुने हुनाले पहिलो प्राथमिकता भूमिमा दिनु पर्दछ । भूमिमा जल, अग्नि, वायूको स्वाभाविक आवागमन छ भने त्यसलाई उत्तम भूमिका रुपमा लिइन्छ । प्रथमतः उत्तम भूमि चयन गर्न सकियो भने वास्तुको पहिलो आधार सकारात्मक बन्छ । उत्तम भूमिमा वास्तुसम्मत निर्माण गर्दा मात्र त्यसमा निवास गर्ने भूमिपतिको जीवन उन्नत हुन्छ ।

वास्तुमा निर्माणअघि नै भूमि शोधन अनिवार्य छ । त्यसकालागि वास्तुशास्त्रमा भूमि शोधनका विभिन्न उपायहरुको चर्चा गरिएको छ । विश्वकर्मा प्रकाश आदि ग्रन्थमा भूमि शोधन या चयनका विभिन्न विधिहरु बताइएको छ । सर्वप्रथम निर्माणस्थल वरिपरिको वातावरणको सुक्ष्म अध्ययन गरिनुपर्छ । त्यहाँको वातावरण कस्तो छ । निवासयोग्य छ छैन हेरिनुपर्छ । जमिनको नजिकै अनावश्यक खाडल या अग्ला पहाड, रुखहरु, विद्युत या अन्य संचारका टावरहरु, जंगली जनावरहरुको अवस्थाआदि अध्ययन गरिन्छ । यदि यी कुराहरुमा समस्या देखिएन भने भूमिको दिशा अध्ययन गर्नुपर्छ । मानिसको वर्ण अनुसार भूमिको दिशा मिल्छ मिल्दैन अध्ययन गरिनुपर्छ । दिशा र वर्णको समन्वय मिलेपछि बल्ल भूमिको उर्जा परिक्षण गरिनुपर्छ ।

भूखण्डको माटो परिक्षणका विभिन्न विधिहरु छन् । निर्माणस्थलको माटोको रंगका आधारमा भूपतिको वर्णसँग तालमेल मिले नमिले हेर्नुपर्छ । जमिनको भारवहन क्षमता कति छ ? निर्माण उद्देश्य र भारवहन क्षमताबीच सन्तुलन मिल्छ मिल्दैन अर्थात् जमिनले उद्देश्य अनुसारको निर्माण थेग्न सक्छ सक्दैन अध्ययन गर्नुपर्छ । माटोको उर्बरता कस्तो भन्ने अर्को महत्वपूर्ण पाटो हो । जमिनमा वायुको प्रवाहलाई पनि अध्ययन गरिनुपर्छ । पछिल्लो समयमा आधुनिक विज्ञानले पनि यी कुराहरुको अध्ययनको व्यवस्था गरेको छ । खासगरी प्रयोगशालामा माटोको परिक्षण विधि छ तर पनि प्राचीन वास्तुशास्त्रीय विधि अत्यन्तै व्यवहारिक र कम खर्चिलो छ । वास्तुशास्त्रीय विधिमा माटो परिक्षण गर्दा तत्काल शुभाशुभ परिणाम देख्न पाइन्छ । यो जमिन मै पुगेर गरिने परिक्षण भएकोले उत्तम परिक्षणका रुपमा स्थापित छ । माटो परिक्षण गर्दा सानो आकारको जमिन छ भने एक ठाँउको माटो परिक्षणबाटै निकास निकाल्न सकिन्छ भने ठूलो आकारको जमिनमा निर्माण गरिदैछ भने फरक फरक स्थानको माटो परिक्षणबाट निश्कर्ष निकाल्नुपर्छ ।

भूमि परिक्षण गर्ने पहिलो विधि अत्यन्तै प्रचलनमा छ । जसमा एकहात लामो, एकहात फराकिलो र एक हात गहिरो खाडल खनिन्छ । यसरी खनिएको खाडलमा पुनः त्यही माटो हालिन्छ । खनेर निकालेको माटोले खाल्डो पुरै भरिएर बच्यो भने त्यो जमिनको घनत्व राम्रो मानिन्छ । घनत्व राम्रो भएको जमिनमा निर्माण गर्न उत्तम मानिन्छ अर्थात् यस्तो जमिन उत्तम जमिनभित्र पर्छ । वास्तुशास्त्रको विधिअनुसार यदि त्यसरी निकालिएको माटोले खाल्डो भरियो तर बचेन भने त्यसलाई मध्यम खालको जमिन मानिन्छ । जहाँ सर्प या मुसाहरुको अधिक प्रभाव रहेको हुनसक्छ । यस जमिनमा सामान्य उपाय गरेर निर्माण गर्न सकिन्छ । माटोले त्यो खाल्डो भरिएन भने त्यस्तो जमिन अधम खालको अर्थात् नकारात्मक मानिन्छ । यसले जमिनको घनत्वको मात्र निर्णय गर्छ । यदि भरिएन भने त्यसकालागि जमिनमा निर्माण गर्दा निकै तलसम्म खनेर जग हालिनुपर्छ ।

प्राचीन वास्तु विधि अनुसार अर्को तरिका भनेको एक घनहातको खाडलमा पानी भरेर परिक्षण गर्ने विधि हो । उक्त खाल्डोमा पानी भरेर परिक्षण गरिन्छ । तत्काल थाहा पाउन उक्त खाल्डोभरी पानी भर्ने र एकसय पाइला पर गएर फर्कने । फर्केर आउँदा खाडलमा पानी भरिनै छ भने त्यो जमिन उत्तम जमिनमा पर्छ । अलिकतिमात्र घटेको छ भने मध्यम मानिन्छ । यदि खाडलमा आधाभन्दा बढी पानी घट्यो भने त्यो जमिन अधम खालको भन्ने बुझ्नुपर्छ । यस्तो जमिनमा निवास बनाउँदा व्यक्तिको जीवनमा विभिन्न किसिमका समस्याहरु आउन थाल्छ ।

त्यसैगरी अर्को परिक्षण उल्लेखित खाडलमा बेलुका पानी भरेर छाड्ने र भोलिपल्ट बिहान गएर हेर्ने विधि हो । वास्तुशास्त्र अनुसार बिहानसम्म पनि अलिअलि पानी वाँकी छ भने त्यो जमिन अनि उत्तम जमिनमा पर्छ । हलुका चिसो मात्र पनि छ भने मध्यम र पुरै सुक्का र खाडलभित्र चिरा परेको छ भने अधम या निकृष्ट जमिनमा भनी बुझ्नुपर्छ । यस्तो परिक्षण गर्दा मौसम या ऋतुका आधारमा सचेतता अपनाउनुपर्छ । वर्षात्मा र ग्रिष्म ऋतुको समयमा यो परिक्षण गर्दा विशेष ख्याल राख्नुपर्छ ।

अर्को विधि जमिनको उर्बरतामापन विधि हो । उर्बर जमिनमा निवास या निर्माण गर्दा प्रतिफल पनि उर्बर हुन्छ । उर्बरता छैन भने निवास गर्नेको जीवनमा पनि उर्बरता या समृद्धि आउँदैन भन्ने वास्तुशास्त्रको मान्यता छ । त्यसैले विश्वकर्मा प्रकाश नामक ग्रन्थले निर्माण अघि जमिनको उत्पादकत्व जाँच गर्ने विधि व्यवस्था गरेको छ । उत्पादकत्व अध्ययन या परिक्षण गर्ने सजिलो विधि छ । जुन जमिनको उत्पादकत्व जाँच गर्नुछ त्यो जमिनमा धान, गहुँ, तोरी, तिल, जौ, सस्र्युं जस्ता अनाज छरिदिनुपर्छ । यसरी छरिएको अनाज तीन रातमा टुसाउन थाल्यो भने त्यो जमिनको उर्बरा राम्रो छ । यहाँ निवास गर्दा अति उत्तम हुन्छ । पाँच रात लाग्यो भने मध्यम छ र ७ रात या त्योभन्दा बढी लाग्यो भने जमिनमा उर्बरता छैन भनेर जान्नुपर्छ । यस्तो जमिन सकारात्मक मानिदैन । निवासकालागि पनि उर्बर भूमि नै उत्तम हुन्छ । यस्तो भूमिले सुख, समृद्धि र समुन्नति दिन्छ भन्ने वास्तुशास्त्रको मान्यता छ । कुनै कारणले निर्माणस्थलको उर्बरता कमजोर छ र त्यही निर्माण गर्नुपर्ने वाध्यता छ भने त्यसको लागि जमिनको उपचार पछिमात्र निर्माण गरिनुपर्छ ।

हामीलाई थाहा छ पृथ्वीमा विभिन्न विकिरणहरुको आवागमन भइरहन्छ । सम्बन्धित भूमिमा कुन दिशाको विकिरण कस्तो छ भन्ने परिक्षण गर्नुपर्छ । त्यसकालागि पनि माथि उल्लेख गरेजस्तै एक घनहातको खाल्डोमा विभिन्न चार रंगका फूल राखेर परिक्षण गर्ने विधि छ । फूल उपलब्ध नभएमा चार दिशामा चारवटा बत्ती बालेर त्यसको परिक्षण गर्न सकिन्छ । जुन दिशाको बत्तीमा उर्जा बढी छ त्यही दिशाजन्य कार्यका लागि भूमिको प्रयोग गर्दा अधिक लाभ मिल्छ । पूर्व दिशा अध्ययन, अध्यापन, धर्म–अध्यात्मआदि कार्यकालागि उत्तम मानिन्छ, दक्षिण दिशा प्रशासनिका कार्य अथवा नेतृत्वजन्य कार्यका उत्तम मानिन्छ । व्यापार व्यवसायबाट अधिक लाभ लिन पश्चिम दिशाको उर्जालाई लिनुपर्छ भने कुनै पनि शिल्पजन्य कार्यकालागि या यस वर्गका मानिसकालागि उत्तर दिशाको उर्जाको सदुपयोग गर्नुपर्छ ।

निर्माणस्थलको वायु प्रवाहको अध्ययन अर्को महत्वपूर्ण पक्ष हो । वायुप्रवाह सकारात्मक छ छैन अध्ययन गरिनुपर्छ । जमिनको वायुप्रवाह सकारात्मक हुनुपर्छ । वायु परिक्षण गर्दा जमिनको माटो लिएर आकाशतिर फालेर हेर्न सकिन्छ । त्यसरी फालेको माटो आकाशतिर उड्यो भने उत्तम, केही परतिर गयो भने मध्यम र उही ठाँउमा खस्यो भने कमजोर मानिन्छ । वायुप्रवाह परिक्षणको अर्को सजिलो उपाय बत्ती या अगरबत्ती बालेर पनि गर्न सकिन्छ । निर्माण भइसकेको भवनमा पनि यो परिक्षण गरी उर्जालाई सकारात्मक बनाउन सकिन्छ ।

र अन्त्यमा, कुनै पनि निर्माण या निवासकालागि जमिन छनौट गर्दा नै उत्तम वास्तुविज्ञको सल्लाह र परिक्षणबाट निश्कर्षमा पुग्नुपर्छ । जमिनको उर्जा सकारात्मक भएपछिमात्र निर्माणको निर्णय गर्नुपर्छ । जमिन वरिपरिको वातावरण, जमिनको घनत्व, आद्रता, उर्बरता, वायुप्रवाह लगायतको परिक्षणबाट अधिकतम शुभताका आधारमा निवास निर्माण गर्ने हो भने भूमिपतिको जीवनमा अधिकतम् सकारात्मक हुन्छ । निवास शान्त, सौम्य र समृद्ध बनाउने पहिलो आधार उत्तम भूमि छनौट हो । उत्तम भूमिको प्राप्तिपछि वास्तुसम्मत् निर्माण गरिनुपर्छ ।

Discover Interests