घरमा माछा पालनः रहर र वास्तु

trendingproducts

मानिसहरुमा फरकफरक रहर र शोक हुन्छ । कसैले घरमा कुकुर पालेर रमाएको हुन्छ भने कसैले बिरालो पालेर रमाएको हुन्छ । आफूलाई कुन पशु पंक्षी या जलचरबाट आनन्द आउँछ त्यही जीवको पालन गर्छ । जनावर पंक्षी या जलचर जीव पालन गर्दा मानिसमा एकप्रकारको दयाभाव सिर्जना भएको हुन्छ । जुन सकारात्मक पक्ष हो तर कुन जीवनलाई कहाँ राख्दा कस्तो प्रभाव पर्छ भन्ने थाहा पाउनु वास्तुशास्त्रको काम हो । पछिल्लो समयमा घरमा माछाघर ‘एक्वैरियम’ बनाएर माछा पालन गर्ने रहर अधिकांशमा देखिन्छ । यो रहरमात्र नभएर सकारात्मक वास्तुको एउटा उपाय पनि हो । वास्तुअनुसार सही दिशामा भएको ‘एक्वैरियम’ले त्यसघरमा निवास गर्नेको जीवनमा सकारात्मकता र आनन्द ल्याउन मद्दत गर्छ ।

सामान्यतया घरमा रहेका वस्तुहरूलाई वास्तुशास्त्र अनुकूल व्यवस्थित गरिएको छ भने घरमा समृद्धि र खुशी ल्याउँछन् भने अव्यवस्थित छ भने समस्याको कारण बन्न सक्छन् । हामीले बजारबाट खरिद गर्ने या अन्य कुनै पनि उत्पादन घरमा कहाँ राख्ने भन्ने निश्चित गरेका हुन्छौँ । त्यसैले ‘एक्वैरियम’ पनि वास्तु अनुरूप स्थापित गरिएको छ भने त्यसले माछा र निवास गर्नेको जीवनमा सकारात्मक प्रभाव पारेको हुन्छ । किन कि ‘एक्वैरियम’मा पञ्चतत्व समेटिएको हुन्छ । यसमा भएको पानी चलायमान हुनुपर्छ जसले घरमा सकारात्मक ऊर्जा र धनागमलाई बढाउँछ ।

वास्तुअनुसार घरमा ‘एक्वैरियम’ राख्नाले नकारात्मक ऊर्जा माछाले शोषण गर्छ र नकारात्मक शक्तिहरूले प्रभाव जमाउन सक्दैन । जसले गर्दा सकारात्मक ऊर्जा प्रवाह हुन्छ र घरमा खुशी र समृद्धि बढ्छ । माछा चलायमान जीव हो । यसको सही उपस्थितिले घर समृद्ध बन्छ । माछासहितको सानो ‘एक्वैरियम’ले पनि राम्रो भाग्य ल्याउन सक्छ भन्ने विश्वास जनमानसमा छ । तर वास्तुअनुसार त्यहाँ राखिएका माछाको संख्यालाई पनि ध्यान दिनु जरुरी हुन्छ । ‘एक्वैरियम’मा माछा राख्दा या पाल्दा विषम संख्यामा राखिएको हुनुपर्छ । विषम संख्याले सन्तुलनको काम गरिरहेको हुन्छ । त्यसमा पनि नवग्रहको संख्या अथवा पूर्ण अंक ९ वटा माछा अधिक प्रभावकारी हुन्छ ।

माछाको रंगले पनि प्रभाव पार्ने हुनाले त्यसलाई पनि ध्यान दिनसक्दा अधिक लाभ मिल्छ । घरमा पालिने माछाहरु प्राय सुनौलो रंगका हुन्छन् । सकारात्मक वास्तुकालागि पालिने माछाहरुमध्ये एउटा कालो माछा राख्न पाउँदा अझ उत्तम हुन्छ । सुनौलो माछा धन र समृद्धिदायक हुन्छ भने कालो माछा नकारात्मक ऊर्जा शोषण गर्छ । माछाहरूको विषम संख्या, रङ र निरन्तर चलायमान अवस्थाले आकाशतत्वसँग सम्बन्धित उर्जा सकारात्मक बनाइ घरलाई आनन्दित बनाउन मद्दत गर्छ ।

‘एक्वैरियम’ स्थापना गर्दा शुभ समय र शुभ दिशालाई ध्यान दिनुपर्छ । उत्तम समयमा इशान कोणमा स्थापित ‘एक्वैरियम’ले समृद्धि र सकारात्मक उर्जाको काम गर्छ । ‘एक्वैरियम’मा जलतत्वको अधिकता हुने हुनाले इशान कोण उत्तम स्थान हुनसक्छ । यसबाहेक वास्तुको शुभताका हिसाबले ‘एक्वैरियम’लाई पूर्व, उत्तर, वा पूर्वोत्तर दिशाहरूमा राख्नु राम्रो हो । ‘एक्वैरियम’ बनाउँदा या स्थापित गर्दा यसको सुन्दर पक्षलाई ख्याल राख्नुपर्छ । रंग, आकार, दृश्यात्मक र आकर्षक हुनुपर्छ ।

‘एक्वैरियम’मा राखिएका माछाहरुको अवस्था र तिनको उर्जाले त्यहाँ निवास गर्नेको उर्जास्थिति प्रकट गरेको हुन्छ । घरबाहिरबाट थाकेर घरमा आउँछ माछाहरुको चलायमान अवस्था थकावट कम गर्न मद्दत गर्छ । ‘एक्वैरियम’का माछाको उर्जाले व्यक्तिमा रचनात्मकता बढाउन सहयोग गरिरहेको हुन्छ भने एकप्रकारको शान्तिको महशुश गराइरहको अनुभव गर्न सकिन्छ । व्यक्तिमा कल्पनाशीलताको विकास गराउँछ ।

वास्तुअनुसार ‘एक्वैरियम’मा राखिएका माछाले समग्र घर र घरका मानिसहरुलाई नकारात्मकताबाट जोगाइरहेका हुन्छन् । माछाहरु विपरित तत्वसँग लडेर हामीलाई राहत दिने हुनाले उनीहरु मर्न पनि सक्छन् । राम्रो व्यवस्था र सही रेखदेख हुँदा हुँदै पनि माछा मर्छ भने त्यसले कुनै एउटा समस्याको समाधान गरेको हुन्छ भन्ने विश्वास छ । यदि कुनै माछा प्राकृतिक रुपमा मर्छ भने ‘एक्वैरियम’मा भएको संख्या विषम बनाउन थप गर्दा राम्रो तर माछा मर्दा घरमा रहेको नकारात्मक ऊर्जा वा अवरोधहरूलाई ग्रहण गर्छ भन्ने विश्वास छ । मरेको संख्यालाई पुन थप गर्दा यसले नयाँ र पुरानाहरुबीचको सम्बन्ध कामय गर्न मद्दत गरिरहन्छ ।

र अन्त्यमा, माछा जीवको हिसावले एउटा अवतारको रुपमा स्थापित छ । मत्स्यअवतार जसले पृथ्वीलाई जलबाट बाहिर ल्याएको कथा प्रष्ट छ । माछालाई मीन राशीको रुपमा पनि लिइन्छ । ज्योतिषशास्त्रमा पनि माछाको महत्वलाई विशेष रुपमा लिने गरेको पाइन्छ । ग्रहजनित समस्याको निवारणका लागि माछालाई भोजन गराउने विधि प्रचलनमा छ । तसर्थ एउटा अवतारको रुपमा हरेको माछालाई घरमा सम्मानपूर्वक उत्तर, उत्तर पूर्व र पूर्वमा पालन गर्दा वास्तुशुद्धिसँगै मानिसको जीवनमा सुख, समृद्धि र सकारात्मकता ल्याउँछ भन्ने वास्तुशास्त्रीय मान्यता छ ।

Discover Interests