यतिबेला हामी पितृ.पक्षमा छौं । यो आश्विन महिनाको कृष्णपक्ष हो । यसलाई श्राद्ध पक्ष पनि भनिन्छ । स्वर्गीय पितृहरुको श्रद्धापूर्वक पूजा, तर्पण र पिण्ड दान गरी श्रद्धा अर्पण गर्ने कार्य भएकोले यसलाई श्राद्ध भनिएको हुनुपर्छ । वर्षभरीमा यो १५ दिन पितृहरुकालागि विशेष दिन हो । पितृको स्वर्गारोहण भएको तिथि र अर्को यही सोह्र दिनभित्रको तिथि गरी वर्षमा दुईपटक श्राद्ध गरिन्छ । पुराणमा तिन प्रकारको श्राद्धको उल्लेख गरिएको छ । हरेक दिन गरिने श्राद्धलाई नित्य श्राद्ध भनिन्छ भने एकोदिष्ट श्राद्धलाई नै नैमित्तिक श्राद्ध भनिन्छ । कुनै कार्य सिद्धिका लागि गरिने श्राद्धलाई काम्य श्राद्ध भनिन्छ । स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि र यो आश्विन कृष्णपक्षको तिथिमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ । महर्षि मरीचिका अनुसार आफूलाई सबैभन्दा मनपर्ने भोजन श्रद्धापूर्वक आफ्ना पितृको नाममा अर्पण गर्नु नै श्राद्ध हो । बृहस्पतिका अनुसार श्राद्धका लागि दूध घिउ र दहिमा बनाईएको भोजन जसलाई सबैभन्दा उत्तम विधिद्वारा स्वादिष्ट हुनेगरी निर्माण गर्नु र श्रद्धापूर्वक पितृको उद्देश्यले ब्राह्मण भोजन गराउनु नै श्राद्ध हो ।
श्राद्धकार्यबाट सन्तुष्ट भएर पितृले आफ्ना सन्ततीलाई आयु, पुत्र, यश, स्वर्ग, कीर्ति, पुष्टि, बल, बैभव, पशु, सुख, धन—धान्यले भरिपूर्ण गराउँदछन् । जो ब्यक्ति एकाग्रचित्त भएर श्राद्ध गर्दछ उ समस्त पापबाट मुक्त हुन्छ र पुन यो संसाररुपि चक्रबाट छुट्कारा पाउँदछ भन्ने शास्त्रीय मान्यता रहेको छ । पितृ रिसाए भने मानिसहरुलाई जीवनमा धेरै प्रकारका दुःख कष्टको सामना गर्नुपर्दछ । पितृ अशान्त हुँदा संचित धनको हानि, सन्तानको समस्यालगायतका धेरै समस्या आउँछन् । सन्तान नहुनेहरुले त झन पितृलाई खुसी पार्नका लागि श्राद गर्न अनिवार्य हुन्छ । जसलाई बृद्धिश्राद्ध भनिएको छ ।
हिन्दु धर्म अनुसार कौवालाई पितृको रुप मानिन्छ । भनिन्छ श्राद्ध ग्रहणका लागि हाम्रा पितृ कौवाको रुपधारण गरेर आउँछन् । उनीहरुलाई श्राद्धमा उपयोग गरिएको वस्तु खानका लागि दिइएन भने उनीहरु रुष्ट हुन्छन् । आफ्नो घरमा, मन्दिरमा बसेका ब्रम्हाण्डबाट, तिर्थमा, गोर्कणमा, कोटिहोममा, पशुपति क्षेत्रमा गएर श्राद्ध गर्न सकिन्छ भने आफनै घर नहुने डेरामा श्राद्ध गर्न हुदैन भन्दै पितृश्राद्ध नगर्ने गरेको पनि सुन्न पाइन्छ जुन राम्रो कुरा होइन । आफ्नो घर नहुनेले पनि आफूले भाडा तिरेर बसेको घरमा पिण्डदान गर्न हुन्छ र गर्नुपर्छ ।
हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् । त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् । श्राद्धमा गरिने तर्पण, पिण्ड दान, संकल्प आदि भावात्मक रुपमा पितृ लोकमा पुग्छ भन्ने धार्मिक विश्वास छ । तर पितृपक्षको अवधिमा शुभ कार्य गर्न नहुने धार्मिक मान्यता रहेको छ । गृह प्रवेश, बिहे, व्रतवन्ध लगायतका काम सोह्र श्राद्धको अवधिभर गरिँदैन । किनभने यो समय भनेको दिवंगत पुर्वजहरुको सम्झना गर्ने र पितृ ऋण मोचन गर्ने समय हो । त्यसैले बिहे, व्रतवन्ध, गृह प्रवेश जस्ता, हर्ष उल्लासका काम गरिँदैन ।
श्राद्धमा पितृ, पितामह , प्रपितामह, माता, पितामही, प्रपितामही, मातामह, प्रमातामह, बृद्धप्रमातामह, मातामही, प्रमातामही, बृद्धप्रमातामही, मातुल, जायपिता र माता तथा गुरु र अन्य बन्धुबान्धव आदिलाई तर्पण दिइन्छ । यी माथि उल्लेख गरिएका सम्बन्ध हाम्रा शुभचिन्तक र कल्याण चाहने सम्बन्धी हुन् । त्यसैले आफ्नो कल्याणका लागि पनि श्राद्धगर्नु अति आवश्यक मानिन्छ । ऋषिहरुका अनुसार श्राद्धदेखि बाहेक दोस्रो कल्याणकारी अर्को कुनै कार्य हुनसक्दैन । त्यसैले बुद्धिमान मानिसले राम्रो श्रद्धापूर्वक श्राद्ध गर्नुपर्दछ । श्राद्धकर्म मृतकको तृप्तीका लागि त अवस्य नै हो तर त्यसले श्राद्धकर्ता स्वयं र उनका परिवारजनको पनि तृप्तिका साथै यशः किर्ती बृद्धि गर्ने गर्दछ भन्ने शास्त्रीय आधार छ ।
पितृपूजा गर्न छोराहरूले कपाल मुण्डन गरी नुहाइधुवाइ गरेर अघिल्लो दिन एक छाक चोखो खाएर बस्नुपर्छ । श्राद्धको दिनमा पण्डित निमन्त्रणा गरेर आफू कर्ता बसी पण्डितद्वारा श्राद्ध विधि अनुसार श्राद्ध गर्नुपर्छ । पितृका भान्जा, नाति, नातिनालाई टीका लगाई दान दक्षिणा गरी स्वादिष्ट मिष्ठान्न भोजन गरायो भने पितृ खुसी हुन्छन् । पितृको उद्धारका लागि पितृ कर्म गर्ने छोरा पितृ ऋणबाट मुक्त हुन्छ । उसले पितृबाट पाएको सम्पत्तिको सदुपयोग गर्न पाउँछ । गरेन भने पितृद्रोही हुन्छ र पितृ ऋणबाट कहिल्यै मुक्त हुँदैन । त्यसैले भनिन्छ नि देवताले आशीष र वरदान दिए पनि पितृले हरण गर्छन् । माता पिता या पितृ भन्दा ठूला देवता अरु छैनन् र त भनिन्छ ‘पितृ देवो भवः मातृ देवो भवः’ ।
“घर कार्यालयको वास्तु, सुख शान्ति समृद्घि तथास्तु”
के तपाई आफ्नो घरको वास्तु सुधार गरी सुख, शान्ति र समृद्धि चाहनुहुन्छ ? अथवा वैदिक तथा वैज्ञानिक तरिकाले वास्तु परामर्श सेवा दिन चाहनुहुन्छ ?
चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् https://vastubigyan.com/about.php#contact