मुख्य देवताको उर्जा क्षेत्र, वास्तु प्रभाव र उपचार

trendingproducts

मुख्य वा विश्वकर्मा
वास्तुमा दिशाको साथसाथै देवताको अवस्था अर्को महत्वपूर्ण पक्ष हो । हामीहरु बस्ने आवासमा वास्तु पुरुष मण्डलसँगै विभिन्न स्थानहरुमा ४५ देवता वा ४५ उर्जा क्षेत्रको उपस्थिति रहन्छ । हामी घरमा कुन स्थानमा बसेका छौ त्यसै ठाउँको उर्जास्थानको गुण धर्मले हामीलाई प्रभावित पार्छ । वास्तु दिवसको सन्दर्भ भएकोले मुख्य (विश्वकर्मा) नामक देवताको उर्जास्थलको बारेमा विस्तृत जानकारी दिने प्रयास गरिएको छ ।

विश्वकर्मा नामक देवतालाई मुख्य पनि भनिन्छ । यो स्थान घरको उत्तर र उत्तर पश्चिमको बीचमा वा NNWमा अवस्थित हुन्छ । यसस्थानको मुख्य अधिकारी विश्वकर्मा देव नै हुन् । विश्वकर्मा उत्तम निर्माणकर्ता हुन् । उहाँले सत्ययुगमा स्वर्ग, त्रेतायुगमा लंका, द्घापर युगमा द्घारका (कृष्णको राजधानी) र कलियुगमा पाण्डवहरुका लागि इन्द्रप्रस्थको निर्माण गर्नुभएको थियो । विश्वकर्मा विश्वका ईश्वरीय इन्जीनियर भएकोले उहाँलाई इन्जीनियरिङ र वास्तुकलाका क्षेत्रमा मात्र नभई सबै पेशा व्यवसायीहरुले पनि श्रद्घाकासाथ पुजा अर्चना गर्दछन् । विश्वकर्मा देवताहरूको उड्ने रथ, हात हतियार र दिव्य आसनहरूको डिजाइनर हुनुहुन्छ । विश्वकर्मालाई भगवान इन्द्रको पवित्र हतियार बज्रसहित पौराणिक युगमा प्रयोग हुने मिसाइलहरू सिर्जना गर्ने श्रेय पनि दिइन्छ । विश्वकर्मा सबै शिल्पकार र वास्तुकारहरूको प्रमुख देवता हुनुहुन्छ । ब्रह्माको पुत्र, उहाँ सम्पूर्ण ब्रह्माण्डको दिव्य ड्राफ्टम्यान र सबै देवताका दरबारहरूको आधिकारिक निर्माता को रुपमा चिनिनुहुन्छ ।  

मुख्य (विश्वकर्मा) को बिशेषताः
४५ देवता मध्येका मुख्य अर्थात् विश्वकर्मा भवन वा व्यवसायको मुख्य व्यक्ति, प्रमुख, विद्वान, अग्रणी, नेता, मार्गदर्शक, वेद अध्ययन गर्ने, सिकर्मी, निर्माता, भविष्य निर्माताका साथै उत्पादकत्व क्षमता ग्रहण गर्ने शक्ति प्रदान गर्ने देवता हुन् । यस स्थानको नामले नैे यसको गुणहरू प्रस्ट पारेको छ । मुख्य जसको अर्थ प्रमुख वा विशेष हो जस अनुसार यदि यो स्थान शुभ छ भने त्यस आवासमा वस्ने प्रमुख व्यक्तिलाई लाभदायी रहन्छ । साथै धेरै मानिसहरू प्रयोग गर्न सक्ने क्षमता श्रृजना गर्दछ । यो स्थान जब शुभ वा वास्तुदोष रहित हुन्छ, कुनै व्यक्ति विद्वान, नेता, प्रमुख वा मार्गदर्शक बन्न सक्ने क्षमताको विकास हुन्छ ।

विश्वकर्माका चार मुख छन्, हातमा क्रमशः माला, पुस्तक, कमण्डल र वरद मुद्रा छ । त्रिनेत्रधारी उहाँको कपालमा चन्द्रमा विराजमान छ । यस आधारमा हेर्दा यो पद शुभ हुँदा व्यक्ति शास्त्रअनुसार मार्गमा हिड्छ र मनोकांक्षा पूरा गर्न सक्षम हुन्छ । चन्द्रमाले कलाको प्रतिनिधित्व गर्छ अर्थात् व्यक्ति विभिन्न कलामा जानकार हुन्छ । मुख्यको वाहन हंस हो, जसले नीर–क्षीर (पानीमा दुध छुट्याउने क्षमता) विवेकको प्रतिनिधित्व गर्दछ, अर्थात् यो स्थिति शुभ हुँदा व्यक्तिमा सही र गलत छुट्याउन र सही निर्णय लिने क्षमताको विकास हुन्छ । जसरी काँचो हिरा असल कालीगढको हातमा पर्दा उसले त्यसलाई कुँदेर मूल्यवान बनाउँछ, त्यसरी नै यो पद शुभ हुँदा व्यक्तिले आफुसँगै तथा अरुलाई पनि मूल्यवान बनाउँन सक्षम हुन्छ ।  अफिस, फ्याक्ट्री वा उद्योगको सन्दर्भमा यो पद शुभ भएमा व्यक्तिले आफ्नो मातहतको व्यक्तिको प्रतिभाको पूर्ण उपयोग गर्न सक्छ । जब यो पद शुभ हुन्छ तब व्यक्ति ज्ञानले भरिपूर्ण हुन्छ । आफ्नो प्रतिष्ठाको बारेमा अधिक सचेत रहन्छ जसले गर्दा मान, इज्जत, पद र प्रतिष्ठा पाउँछ । यो मुख्य वा विशेष क्षेत्र हो । यो क्षेत्र रचनासँग सम्बन्धित छ । विश्वकर्मा, नामबाटै स्पष्ट छ, संसारको काम गर्ने वा सबै प्रकारका रचनात्मक कार्य गर्ने व्यक्ति । यो स्थान नयाँ र रचनात्मक विचारसँग सम्बन्धित छ ।

यस स्थानमा वास्तु दोष रहेमाः–
यदि यस स्थानमा कुनै दोष छ भने व्यक्तिलाई ज्ञान प्राप्त गर्न बाधा आउन सक्छ । इज्जत र प्रतिष्ठाको कमी आउन सक्छ । प्रसिद्धि पाउँदैन । सृजनात्मक कार्य सोच्ने क्षमता कम रहन्छ ।

यस स्थानको उपयोगः
यो स्थान मुल ढोकाको लागि उपयुक्त ठाउँ हो । यस ठाउँमा द्वार (ढोका) भएमा पुत्र, नाती, धन, अन्न, वाहन आदि प्राप्त हुन्छ । यो स्थान बेडरूम (शयनकक्ष) विशेष गरी नवदम्पती वा विवाहयोग्य व्यक्तिको लागि उपयुक्त रहन्छ । पैसा, अन्न, गहना, सुन, रत्न आदि राख्न पनि उत्तम रहन्छ । यो अध्ययन, पानीको निकास, फूलबारी बनाउन, सिकाइ, योजना बनाउने कामका साथै सृजनात्मक गतिविधिको सबै प्रकारको कामका लागि शुभ स्थान हो । योजनाआदि सबै कामको लागि शुभ हुन्छ । आँखा विशेषज्ञका लागि यो एक शुभ स्थान रहन्छ । व्यवसायीको लागि बस्नको लागि यो एक शुभ स्थिति हो।

वास्तुदोषको वैदिक उपचार विधि:
  खानामा पीठो, दही र घ्यूको प्रयोग गर्ने ।
  जमिन माथि गजमुख स्थापित गर्ने ।
  अंकुश वा पाशो को चिह्न धातुमा बनाएर जमिन मुनि स्थापित गर्ने ।
  खानामा श्रीखण्ड, दही, घिउ र भातको प्रयोग गर्ने ।

नोटः आफ्नो घर, फ्ल्याट, आवासको पूर्ण वास्तुका साथै ४५ देवता वा उर्जा क्षेत्रको समग्र जानकारी सहित उपचार गरी अधिकतम् लाभ लिन चाहनु हुन्छ भने कृपया https://vastubigyan.com/ मा click गरी लगइन गर्नुहोस् ।

Discover Interests