स्वास्थ्य मन्त्रालयको वास्तु अवलोकन, सन्दर्भ : वास्तु दिवस

trendingproducts

आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको सन्दर्भ पारेर वास्तुविज्ञानडटकमले स्वास्थ्य मन्त्रालयको वास्तु अनुगमन गरेको छ । नेपाली जनतालाई स्वस्थ राख्ने जिम्मेवारी यसै मन्त्रालयको हो । जसलाई जनस्वास्थ्य जस्तो चुनौतिपूर्ण क्षेत्रको जिम्मेवारी छ । जनताको स्वास्थ्यमा काम गर्ने मन्त्रालयको आफ्नो स्वास्थ्यमा भने कमजोर देखिन्छ । यस मन्त्रालयका उच्च कर्मचारीहरु सधै तनावमा रहन्छन् । सचिवहरुको मनमुटाव संचारमाध्यमहरुबाट बारम्बार सार्वजनिक भइरहेको पाइन्छ । मन्त्रालयको जिम्मेवारी सम्हालेका अधिकांश मन्त्रीहरुलाई कुनै न कुनै विषयले विवादित बनाउने गरेको छ । जनस्वास्थ्य जस्तो महान जिम्मेवारी सम्हालेको मन्त्रालय सधै विवादमा देखिनु सकारात्मक मानिने कुरै भएन । सधै तनाव र विवाद झेलिरहनुमा कतै वास्तुदोषको कारण त होइन ? भनी वास्तुविज्ञानडटकमले स्वास्थ्य मन्त्रालयको वास्तु अनुगमन गरेको छ । 

वास्तु विज्ञानको अनुगमन टोलीले प्रशासनिक वास्तुका आधारमा मन्त्रालयको मुख्य–मुख्य स्थानहरुलाई प्राथमिकतामा राखेर प्रारम्भिक अनुगमन गरेको छ । अनुगमन टोलीले मन्त्रालयको समग्र निर्माण प्रक्रियाको नक्शा प्राप्त नगरेका कारण दिशाको अवस्था, उर्जाको स्थिति र निर्माण तथा वस्तुहरुका आधारमा अध्ययन गरेको थियो । प्रारम्भिक अनुगमनमा मन्त्रालयको मूलप्रवेश, भित्री मुख्य प्रवेश, मन्त्रीको कार्यकक्ष, सचिवहरुको कार्यकक्ष, शौचालयहरुको अवस्था लगायतलाई प्राथमिकतामा राखी वास्तुदोष भए नभएको परिक्षण गरिएको छ । त्यसैगरी भवनको अवस्था, त्यहाँ प्रयोग भएको रंग, पानी, ढलको निकास, सिँढीहरुको स्थान, भवनको ब्रम्हस्थान, मिटिङ्ग हल, मन्त्री, सचिव र विभागीय प्रमुखहरुको बसाई तथा दिशाको अध्ययन गरी अनुगमन टोलीले रिपोर्टको तयार गरेको छ । 

मन्त्रालय पूर्वाभिमूख रहेकोले मुख्य प्रवेशलाई सकारात्मक मान्न सकिए पनि मन्त्रीको कार्यकक्ष दक्षिणपूर्वमा रहेको छ । दक्षिण पूर्वका प्रमुखहरु क्षणिक उर्जावान देखिए पनि उनीहरुको वर्चस्व दिगो हुन सक्दैन । त्यसैले स्वास्थ्य मन्त्री भइसकेका अधिकांश मन्त्रीहरु शुरुमा अत्यन्तै उर्जावान देखिए पनि कार्यकालभित्र कुनै न कुनै विवादमा पर्ने गरेकाछन् । अध्ययन रिपोर्टमा मन्त्रालयको शौचालयको अवस्था सकारात्मक नभएको, कर्मचारीमा सिर्जनशीलता, उत्साह र उमंग कमजोर रहेको, आपसी समन्वयमा कमजोरी रहेको निश्कर्ष छ । वास्तुदोष रहेको कार्यक्षेत्रमा दिनभर काम गर्ने कर्मचारी प्रभावित हुन्छ । यो समस्या स्वास्थ्य मन्त्रालयमा पनि देखिएको पाइन्छ । त्यहाँ कार्यरत कर्मचारीहरुमा एकापसमा सद्भावभन्दा गुनासो बढी रहेको पाइन्छ । शौचालयले मन्त्रालयको प्रमुख वास्तुदोष उत्पन्न गरेको अध्ययनको निश्कर्ष छ । बाहिरी प्रवेश र भित्री प्रवेशको प्रत्यक्ष अर्थात् आमनेसामने हुनु पनि वास्तुशास्त्रले सकारात्मक मान्दैन । 

मन्त्रालय मन्त्रीको नेतृत्वमा चल्छ । प्रमुख नेतृत्वको कार्यकक्ष भवनको आग्नेय क्षेत्रमा छ । यो क्षेत्रले आर्थिक पक्षकालागि उर्जा प्रदान गर्छ । मन्त्रीलाई आर्थिक चलखेलमा संलग्न गराउने तत्वहरु सक्रिय रहिरहन्छन् । यहाँको कार्यकक्षले मानसिक रुपमा उर्जावान बनाए पनि समग्र मन्त्रालयको वर्चस्वकायम राख्न सहयोग गर्दैन । सरकार परिवर्तन हुँदा मन्बी फेरिनु स्वाभाविक हो तर अन्य मन्त्रालयमा जस्तो यस मन्त्रालयमा कमै मन्त्रीहरु दोहोरिएर त्यहाँ पुग्ने गरेका छन् । वास्तुदोषका कारण नेतृत्व असफल हुनु, कर्मचारीहरुको सहयोग नहुनु, सामान्य विवाद पनि आन्तरिक रुपमा समाधान नहुनु जस्ता लक्षण देखिएको अध्ययन टोलीको निश्कर्ष छ । 

सचिवको कार्यकक्ष पनि पूर्वीभाग मै छ । यस मन्त्रालयमा दुईजना सचिवहरुको दरबन्दी छ । यी दुईबीच प्रायः समन्वय रहेको पाइदैन । तीनजना अतिरिक्त सचिवहरुबीचमा पनि आफ्नो बर्चस्व देखाउन प्रयत्नशील रहने गरेको कर्मचारीहरुको गुनासो छ । वास्तु सिद्दान्त अनुसार प्रशासन चलाउने उच्च कर्मचारीको अवस्थालाई मन्त्रालयमा ख्याल राखिएको छैन । उच्च नेतृत्वलाई तल्लो नेतृत्वको दवाबमा काम गर्नुपर्ने बाध्यता सिर्जना गरेको हुन्छ । यो नेपालका मन्त्रालयहरु मध्येमा धेरै कर्मचारीहरु भएको मन्त्रालय हो । उच्च नेतृत्वहरुबीच मै मनमुटाव भएपछि समग्र कर्मचारीमा समन्वयात्मक भूमिका कमजोर हुनु स्वाभाविक हो । अतिरिक्त सचिवको कार्यकक्ष भने पश्चिमी भागमा रहेको छ । यसले त्यहाँको जिम्मेवारी पाउने अतिरिक्त सचिव अन्यभन्दा प्रभावी रहेको पाइन्छ । विगतदेखि नै केही सचिवहरु अनावश्यक विवादमा पर्ने गरेको समाचार सार्वजनिक छन् यसको कारण मन्त्रालयको वास्तुदोष एउटा महत्वपूर्ण कारण भएको वास्तुविज्ञानडटकमको निश्कर्ष छ । 

पूर्वी ईशान क्षेत्रमा शौचालय बनाइएको छ । यो क्षेत्र समग्र उर्जाको क्षेत्र हो । वास्तुपुरुषको शीरमा रहेका शौचालयहरुको नकारात्मक प्रभाव सिंगो मन्त्रालयमा परिरहेको छ । अनुगमन टोलीले यसको कारण उच्चपदस्थ कर्मचारीहरुमा समन्वय र सहयोगको भावना कमजोर बनाएको छ । मनस्थिति नै कमजोर भएकोले मन्त्रालयमा आन्तरिक अवस्था पनि उर्जावान देखिँदैन । मन्त्रालयमा कर्मचारी कर्मचारी बीचको समन्वय कमजोर छ । सकारात्मक भावको अभाव छ । उच्च नेतृत्वप्रति सम्मानभाव कमजोर छ । प्रत्येक तलामा उक्लिँदै गर्दा सामुन्नेमा शौचालय हुनुले त्यहाँ पुग्ने जो कोहीको भाव नकारात्मक बन्ने अध्ययन टोलीको निश्कर्ष छ । 

टोलीका अनुसार सामान्यतया वास्तुशास्त्रले निर्माणमा मात्र जोड दिदैन । यसले निर्माण गरिएका भवनको साजसज्जा, कर्मचारीहरुको कार्यक्षेत्रका आधारमा दिशाहरुको चयन, टेबुल र कुर्सीको अवस्था, विद्युतीय उपकरण, रंगरोगन लगायतलाई विशेष ख्याल राख्न जोड दिन्छ । भवनको उर्जालाई पञ्चतत्वहरुको सन्तुलनले व्यवस्थित गरिनुपर्छ । जसले कार्यालयको वातावरण अनुकूल भई कर्मचारीहरू बीचमा मित्रवत् र सद्भाव कायम राख्न मद्दत गर्छ । तबमात्र लक्षित लाभ प्राप्त सहज हुने भएकोले मन्त्रालयलाई वास्तुदोष मुक्त गर्नुपर्छ । 

मन्त्रालय मुख्य प्रवेश नजिक अनावश्यक पार्किङ्ग या अन्य सामान राखिनु राम्रो मानिदैन । भवनको ब्रह्मा स्थानलाई सकेसम्म खाली होस् भन्ने कुरामा ध्यान दिनुपर्छ । भूमिगत जलस्रोत वा पानीका लागि पूर्वी दिशा शुभ मानिन्छ तर स्वास्थ्य मन्त्रालयको पूर्वीभागमा प्रायःजसो ढलको फोहोर पानी जमेको पाइन्छ । जसले वास्तुदोष सिर्जना गरेको छ । मन्त्रालयको पूर्वी भागको सडक अग्लो भइसकेको छ । यसले पनि मन्त्रालयमा पूर्वी उर्जा जति सकारात्मक हुनुपर्ने हो त्यो अवस्था कमजोर छ । वास्तु सिद्दान्त अनुसार मन्त्री, सचिव, सहसचिवहरु तथा विभागीय प्रमुखहरु एवम् निर्देशकहरू कार्यालयको दक्षिण–पश्चिम दिशामा पूर्वाभिमूख भएर व्यवस्थित गरिनुपर्छ तर यस मन्त्रालयमा मन्त्री तथा सचिवको कार्यकक्ष पूर्वीभागमा रहेको छ । ईशानको शौचालय पूर्वको कार्यकक्ष यी पक्ष वास्तुदोषको उपज हो । चमेना गृहलाई पूर्व–दक्षिण वा उत्तर–पश्चिम दिशामा, सिढीलाई दक्षिण, पश्चिम वा दक्षिण–पश्चिम दिशामा र मन्दिर या पुजा कोठा पूर्वाेत्तर दिशामा व्यवस्थित गरिनुपर्छ । स्वास्थ्य मन्त्रालयमा यी र यस्ता कुराहरुलाई व्यवस्थित नगर्दासम्म मन्त्रालयले लक्षित उद्देश्य प्राप्त गर्न नसक्ने वास्तु विज्ञान अध्ययन टोलीको निश्कर्ष छ । 

जमिनको नमिलेको भाग, भवनको वायव्य क्षेत्रको बृद्धि, शुभ क्षेत्रमा अशुभ निर्माण जस्ता कारण मन्त्रीहरु खरिद प्रकृया र कर्मचारीको विषयमा विवादबाट जोगिन कठिन भइरहेको छ । कर्मचारीहरुमा पनि हरदम विवाद देखिन्छ । केही सचिवहरु आफ्नो पदको मर्यादा जोगाउन निम्मस्तरको विवादसमेत गर्ने गरेका उदाहरण छरपष्ट छन् । निजामतितर्फका सचिव र स्वास्थ्यतर्फका सचिवबीच सकारात्मक सम्बन्ध भएको कमै भेटिन्छ ।  

स्वास्थ्य मन्त्रालयको वास्तु अध्ययन टोलीको निश्कर्ष अनुसार जनताको सेवा गर्न भनी यो मन्त्रालय पुगेका नेताहरु आरोपित भएर फर्कनुको विकल्प छैन । विगतका अधिकांश मन्त्रीले केही न केही आरोप खेपेकै छन् । मानिसले आफ्नो कर्मअनुसारको प्रतिफल पाउँछ तर सबैजसो नेतृत्व विवादिन हुनु व्यक्तिगत व्यवहार मात्र कारण होइन । वास्तु खराब छ भने सकारात्मक गर्न खोज्दा पनि असहजता सिर्जना हुन्छ र कर्ताले समस्याको सामना गर्नुपर्ने हुन्छ । मन्त्रालयको वास्तुदोष सुधार अत्यावश्यक छ । वास्तु विज्ञानको मान्यतालाई व्यवहारिक प्रयोगमा ल्याउँदा परिणाम सकारात्मक आउन थाल्छ । सरकारले आफ्नो कार्य क्षमता सुधार ल्याई जनतामा सकारात्मक प्रभाव ल्याउन वास्तु विज्ञानको सिद्दान्तलाई अपनाउन अनिवार्य छ तर यसो नहुँदा सरकार अस्थीरमात्र छैन, पाएको अवसर पनि सदुपयोग गर्न सकेको छैन । मन्त्रीहरु प्रधानमन्त्रीलाई सफल बनाउन सकेका छैनन् । अझै पनि समय छ, सरकारले आफ्ना मातहतका कार्यालयहरुलाई वास्तु विज्ञानका सिद्दान्तअनुरुप परिमार्जन गर्ने हो भने जनचाहना अनुरुप काम गर्न सक्षम हुनेछ । अस्तु ।

Discover Interests