वास्तु र विरुवाः घर जंगल भयो वास्तु सप्रिएन

trendingproducts

अचेल शहरमा वन जंगल देख्न पाइदैन । रुख विरुवा मासिदै गएको छ । बस्ती शहर केन्द्रीत भएकोले शहर विरुवाविहिन र गाउँ बस्तीबिहिन बन्दैछ । शहरमा बस्नेहरुले वास्तु सुधार्न भन्दै या रहरले घरमा विरुवा लगाउने गरेको पाइन्छ । कतिपय घरहरुमा जताततै बिरुवै–बिरुवा लगाएको देखिन्छ । मूल ढोकाबाटै गमलाको लाइन हुन्छ । यतिसम्म कि शौचालय र शयन कक्षमा समेत ‘प्लान्ट’ राख्ने मानिसको शोख छ । के विरुवा वा ‘प्लान्ट’ यसरी घरभित्र या जताततै लगाइनु राम्रो हो त ? के भन्छ वास्तुशास्त्र ? भन्ने विषयमा समसामयिक चर्चा उपयुक्त होला ।

हाम्रो वरपर पाइने विरुवाले हामीलाई सहयोग गरिरहेका हुन्छन् । श्वासप्रश्वास देखि खाने वस्तुसम्म हामीले रुख विरुवाकै सहयोगले पाइरहेका छौं । विभिन्न किसिमका फलहरु दिने विरुवाले हाम्रो जीवनलाई धन्य बनाइरहेकाछन् अथवा हामीलाई बचाइरहेका छन् । सत्य हो कि विरुवाविना हामी बाँच्न सक्दैनौं तर के शहरीयाहरुले घरमा लगाएका सबै बिरुवा हाम्रा लागि सहयोगी होलान् त? पक्कै पनि हामीले सबै बिरुवालाई सजावट, वास्तु या अन्य उद्देश्यले घरमा राख्नुहुँदैन । अझ वास्तु सुधार गर्ने उद्देश्यले राखिने विरुवामा त झन् विशेष सचेतता चाहिन्छ ।

रुख विरुवा हाम्रा सहयोगी भएकोले यसको प्रयोग सकारात्मक मानिन्छ तर बिना जानकारी कुनै पनि विरुवा घरमा लगाउनु भने हुँदैन । खासगरी हाम्रो वरपरको वातावरण स्वच्छ बनाउन र अक्सिजनको मात्रा बढाउन तुलसी लगाउनु अति उत्तम मानिन्छ जुन हाम्रो संस्कृति र परम्परा पनि हो । तुलसी स्वास्थ्यका हिसाबले बहुगुणी विरुवा हो । अचेल घर या कार्यालयमा आधुनिकीकरण गरिएको बाँसको विरुवा राख्ने गरेको देखिन्छ । यसले वास्तु सकारात्मकसँगै सौभाग्य र समृद्धि ल्याउँछ तर त्यसकालागि यसको उपयुक्त स्थान भने थाहा पाउनुपर्छ ।

जीवन उपयोगी मानिने नीम अर्को महत्वपूर्ण बिरुवा हो । यसको उचित फाइदा लिन सक्दा हाम्रो स्वास्थ्यमा सकारात्मक फाइदा हुन्छ तर यही बिरुवा दक्षिण पूर्वतिर लगाइयो भने सकारात्मक फाइदा आउँदैन । यसलाई सधै वायव्य कोणमा लगाउनुपर्छ ।

सबैको मुखमा झुण्डिने मनिप्लान्ट अधिकतम् घरमा देख्न पाइन्छ । नामै मनिप्लान्ट भएकोले यसको अर्थ खोजिरहनु परेन तर आमरुपमा यसबाट फाइदा कमैले उठाएका हुन्छन् । मनिप्लान्ट पैसा फलाउने बिरुवाका रुपमा लिइन्छ तर यसलाई घरको उचित दिशामा नराख्ने हो भने केवल झाडी मात्र हुन्छ । यसको उचित दिशा आग्नेय कोण हो । आग्नेय कोण लक्ष्मीको कोण भएकोले यसलाई त्यसै दिशामा राखिनुपर्छ । अधिकांश घरहरुमा यो अन्य दिशामा मौलाएको हुन्छ ।

वास्तुशास्त्रमा विरुवाहरुबाट उपचार गर्ने पद्दति छ । विभिन्न समस्याहरु कम गर्न विरुवा वास्तु उपचार प्रचलनमा छ । तुलसी, केरा, नीम, बाँस, मनिप्लान्ट, लिलि, सर्पप्लान्ट, अर्किट,अशोक, अमला, रबड, चमेली, घीउकुमारी, गुलाब, सयपत्री, हिविस्कस, कागती, अश्वगन्धा जस्ता थुप्रै बिरुवाहरुको उपयोग र प्रयोग गरिन्छ । यसरी प्रयोग गरिने विरुवाहरु हाम्रो वातावरणमा सहज पाइने खालका छन् भने अधिक प्रभावकारी हुन्छन् ।

घरभित्रका बिरुवाहरुसँगै घरबाहिरका बिरुवाहरुको विषयमा विशेष चनाखो हुनुपर्छ । वातावरणमा भएका बिरुवाको प्रभाव तिनीहरुको प्रकृति र दिशाले निर्धारण गर्छ । घरको अगाडिको भागमा काँडेदार बिरुवाहरु नकारात्मक प्रभाव दिने हुन्छन् । पूर्व भागमा अग्लाखालका विरुवा हुनुहुँदैन । पूर्वमा पीपल र पश्चिममा बरको बोट छ भने त्यस्तोे निवासमा बस्नेहरुलाई सधै एकप्रकारको डरले सताइरहन्छ भने सरकारी पक्षबाट दुख पाइरहने हुन्छ । एउटै बिरुवाहरु त्यसको स्थानका आधारमा फरक फल दिने हुन्छ तसर्थ घर बाहिर होस् या घर भित्र बिरुवाहरु लगाउँदा विशेष ध्यान दिनुपर्छ ।

बगैचा या फूलबारी सबैलाई मन पर्छ । सानै भए पनि बगैंचा हुनु राम्रो हो । घरमा फूलबारी पनि लाभकारी छ छैन भन्ने हुन्छ । आग्नेय, दक्षिण र नैऋत्यको फूलबारी सन्ताप थप्ने हुन्छ भने अन्य दिशाको समृद्धिकारक हुन्छ । घरको मुख्यद्वार या सडकका आधारमा घरबाहिरका रुखहरुको प्रभाव फरकफरक हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । तसर्थ शहरका घरहरुमा बिरुवा अर्थात् ‘प्लान्ट’ लगाएर वास्तु सुधार्ने अभियानले थप नकारात्मकता त भित्र्याएको छैन ? यो विषयमा सावधानी अपनाउनुपर्छ । घरलाई स्वर्ग बनाउने भन्दै वास्तुको वास्तविकता र प्रभावलाई नबुझी घरभित्र बिरुवाहरु लगाइनु हुँदैन । यसो भयो भने घर जंगलमा मात्र परिणत हुन्छ तर सकारात्मक परिणाम नआउन सक्छ ।

Discover Interests