अंक ज्योतिषीय विश्लेषणमा सन् २०२४

trendingproducts

“ज्योतिषस्य बीजम् गणितम्, अंक ददाति तत्फलम् ।”

ज्योतिष विधाको मूल या जड् भनेको गणित हो । यो शास्त्र अंकहरुकै अध्ययनमा आधारित छ । ज्योतिषीय क्षेत्रमा संसारमा विद्यमान विधाहरुमध्ये अंक शास्त्र या अंक ज्योतिष पनि एउटा महत्वपूर्ण विधा हो । वैदिक ज्योतिषमा ग्रह नक्षत्र र ताराहरुको गणना गरी फल निर्धारण गरिएजस्तै पाश्चात्य क्षेत्रमा अंक ज्योतिषले स्थान ओगटेको पाइन्छ । भनिन्छ संसारको शुरुवात अंकबाट भएको हो । काललाई समय भनिन्छ र जहिलेदेखि समय शुरु भयो तबदेखि अंकको शुरुवात भयो । गणना नै ज्योतिष भएकोले अंक र ज्योतिषको सम्बन्ध महत्वपूर्ण छ । जसरी अंकको शुरुवात शुन्यबाट हुन्छ त्यसरी ब्रम्हाण्डको शुरुवात पनि शुन्यबाट हुन्छ । पदार्थ पनि शुन्यबाट विशाल हुन्छ । पदार्थ निमार्ण हुने तत्वलाई पाँच भागमा विभाजित गरिएको छ । पृथ्वी, जल, अग्नि, वायु, आकाशरुपी तत्व नै समग्र सृष्टिको स्वरुप मानिएको छ । वैदिक ज्योतिषमा नौ ग्रह स्थापित छन् भने यसको त्रिगुणित २७ नक्षत्र व्यवस्थित छन् । नक्षत्रलाई चार गुणा गरी प्रत्येक नक्षत्रलाई जम्मा १०८ संख्यामा व्यवस्थित गरिएको छ । समग्र अंकको जोड १०८ कायम गरिएको छ । आजबाट इस्वी सन् २०२४ शुरु भएको छ । यो अंक विश्वभरका मानिसले प्रयोग गर्ने अंक हो । यसको प्रयोगसँगै प्रभाव पनि विश्वभर अर्थात् समग्र जगत, मानिस तथा प्रकृतिमा देखिनेछ । अंकका आधारमा हेर्दा कस्तो रहला त २०२४ ? भन्ने विषयमा सामान्य चर्चा शान्दर्भिक हुनसक्छ ।

सन् २०२४ अंकका हिसाबले हेर्दा मूलांक ६ हो । अंक शास्त्रमा १देखि ९ अंकसम्म मूलांक निकालिन्छ । वर्षको अन्तिम अंकको जोड ६ आउँछ । नव ग्रहहरुको पद्दति जस्तै पाश्चात्य अंक शास्त्री किरोले नौ अंकलाई फरकफरक ग्रहरुको रुपमा विश्लेषण गरी भविष्य वाणी गरेको पाइन्छ । अंक ६ शुक्र ग्रहको प्रतिनिधि अंक हो । यसले शुक्रग्रहजनित फल प्रदान गर्छ भनिएको छ । अंकका हिसाबले दुई अंक चन्द्रमाको अंक हो भने ४ अंक राहू ग्रहलाई प्रतिनिधित्व गर्ने अंक हो । अंक शास्त्रका अनुसार १ सूर्य, २ चन्द्र, ३ गुरु, ४ राहु, ५ बुध, ६ शुक्र, ७ केतु, ८ शनि र ९ मंगलको प्रतिनिधि अंक हुन् । सन् २०२४मा अंकशास्त्रीय मान्यताका आधारमा चन्द्रमा, राहु र शुक्रको प्रधान भूमिका रहनेछ । तर, संयुक्त अंकको योग ८ आउने हुनाले ८ अंक शनि ग्रहको अंक हो । तसर्थ चन्द्र, चन्द्र, राहु, शुक्र र शनि ग्रहले यो वर्ष महत्वपूर्ण भूमिका खेल्नेछन् ।

ग्रह र अंकको तालमेलसँग व्यक्तिको मूलांक, नामांक, भाग्यांक आदिका आधारमा पनि हिसाब र फल तय गरिने भएकोले यो व्यक्तिगत विषय नभई समग्रताको चर्चा हो । देश, काल र पात्रका आधारमा प्रभाव फरकफरक रहन्छ । अंक शास्त्रले अंग्रेजी वर्णमालाका अक्षरहरुलाई पनि नौ अंकमा सुत्रबद्ध गरी फल निर्णय गरेको छ । त्यसैले फरक फरक नाम भएका देशलाई फरक फरक प्रभाव पर्नु स्वाभाविक छ । समग्रमा २०२४ अंकका आधारले मात्र हेर्दा यो वर्षलाई ६ अंकको नेतृत्व र ८ अंकको फल भन्न सकिन्छ । शुक्र शासक ग्रह हो भने शनि प्रतिफलको निर्णायक मान्न सकिन्छ । राहु र चन्द्रमालाई कारक ग्रहका रुपमा लिन सकिन्छ । ६ र ८ अंकले यो वर्षको समग्र निर्णय गर्ने भएकोले यी अंकसँग देश, काल, पात्रको सम्बन्ध जस्तो छ त्यस्तै फल प्राप्त हुनेछ ।

अंक शास्त्रमा देश, काल र पात्रको आफ्नै मूलांक तय हुन्छ । खासगरी पात्रको विषयमा उसको जन्म तारिकको एकल अंक मूलांक हुन्छ । १ देखि नौसम्म जुन अंक एकल अंक हुन्छ त्यही मूलांक हुन्छ । वर्ष अंक ६ र समग्र अंक ८ सँग जसजसको मित्रांक बन्छ उसकालागि सकारात्मक फलदायी रहन्छ भने शत्रु अंक बन्नेहरुकालागि अशुभ फलदायी हुन्छ । सामान्य आधारमा हेर्दा वर्ष अंक ६ मूलांक ३,७ र ९का लागि अति शुभ हुनेछ भने २,४ र ५ मूलांक हुनेहरुकालागि सामान्य शुभ रहनेछ । तर, मूलांक १ र ८ लागि अशुभ हुनेछ । त्यसरी नै अंक ८ मूलांक १ र ४ हुनेहरुकालागि अति शुभ र मूलांक २,५,७ र ९ हुनेहरुका लागि सामान्य शुभ रहनेछ भने ३ र ६ मूलांक हुनेहरुका लागि अशुभ रहने छ । सन् २०२४मा प्रयोग भएका अंक २, ४ यसको योग ६ र सबै अंकको योग ८ अंकको आधारमा केही महत्वपूर्ण चर्चा गर्नु शान्दर्भिक रहने छ ।

अंक २

यो अंक चन्द्रमाको अंक हो । तत्वका हिसाबले चन्द्रमा जल हो । यो वर्ष दुई अंक दुई पटक दोहोरिएको छ । चन्द्रमा मनको कारक हो । यसले मानसिक अवस्थाको प्रतिनिधित्व गर्छ । यो समयमा मानसिक कार्यहरुले अग्रस्थान लिने छ । कल्पना र कल्पनाका आधारमा गरिने सिर्जनाहरु सकारात्मक हुनेछन् । कलाका क्षेत्रमा सकारात्मक विकास भएको पाइनेछ । दुई अंकको संयोजन भएका बेला चन्द्रमासँग सम्बन्धित फलहरु प्राप्त हुनेछ । असार महिना पृथ्वी जलबाट विशेष प्रभावित बन्नेछ । देश, काल र पात्रको मूलांकका आधारमा भने सकारात्मक या नकारात्मक प्रभाव रहने छ । जब जब दुई अंकको संयोग अधिक हुनेछ तब तब चन्द्रमाको प्रभाव अधिक रहने छ । विश्व परिवेशमा भौतिक शक्ति भन्दा काल्पनिक शक्तिले बढी प्रभाव जमाउने छ । उत्तरी, उत्तर पूर्वी र पश्चिमी क्षेत्र यो वर्ष चन्द्रमाको सकारात्मक प्रभावमा रहने छ ।

अंक ४

यो राहुको अंक हो । राहु ग्रह अत्यन्तै बलवान ग्रह हो । चन्द्रमाको कल्पनाशीलतालाई राहुले परिणाममा सहजै परिणत गर्न सक्छ । यो आकस्मिक घटनाको कारक पनि हो । कुनै पनि विना कारण या पूर्व तयारी विनाका महत्वपूर्ण घटनाहरु राहुले सिर्जना गर्नसक्छ । यो वर्ष त्यस्ता महत्वपूर्ण घटनाहरु सार्वजनिक हुनेछन् जसले विश्वमा तहल्का मच्चाउन क्षमता राख्नेछ । अभौतिकताको कारक ग्रह भएकोले प्रविधिको क्षेत्र यो वर्ष विशेष रहनेछ । राज्यको कारक सूर्यलाई पनि नियन्त्रण गर्न सक्ने क्षमता भएकोले राहुले यो वर्ष विश्वका विभिन्न राज्यहरुमा विशेष परिवर्तन गराउने छ । धेरै राष्ट्रहरुमा पुरानो प्रथा या पद्दति फेरिएर नयाँ व्यवस्थाको शुरुवातको कोशिस हुनेछ । अंक ४ मूलांक हुनेहरुको जीवनमा अत्यन्तै सकारात्मक परिवर्तनको संभावना छ । यो वर्ष अपराधिक क्षेत्रमा धेरै उथलपुथल हुने संभावना छ । धेरैका गोप्य कार्यहरु भण्डाफोर हुनेछन् भने प्रविधिका माध्यमबाट गिरोहहरुको तथ्य सार्वजनिक हुनेछ । जसले समाजमा सकारात्मक संदेश जानेछ । श्रावण महिना र अन्य दिन अंक ४को संयोगमा धेरै रहस्यात्मक गतिविधि पर्दाफास भएको पाइने छ ।

अंक ६

यो शुक्र ग्रहको अंक हो । शुक्र भौतिकताको ग्रह हो । समृद्धि र सम्पदाको ग्रह हो । यसवर्ष अंक ६को विशेष भूमिका रहने भएकोले सत्ता, शक्ति र सेक्सका क्षेत्रमा यो वर्ष विशेष रहनेछ । दैत्य गुरु शुक्रको प्रभावका कारण आर्थिक क्षेत्रमा सकारात्मकता हुने संभावना अधिक छ तर अवैधानिक कार्यहरु पनि उत्तिकै मौलाउने देखिन्छ । जसरी हुन्छ सुखसयल, मोज मस्ती र आर्थिक लाभ लिनेहरुको बर्चस्व रहने छ । आर्थिक लाभका लागि होटल, नाइट क्लब, जुवाघर, वेश्यालयहरु चर्चामा रहनेछन् । लामो समयदेखि विवाह नभएकाहरु पनि यो वर्ष वैवाहिक या अन्य सम्बन्धमा जोडिनेछन् । भौतिक विकास, रासलिला, मनोरञ्जन जस्ता क्षेत्रको चकचकी हुनेछ ।

अंक ८

यो शनि ग्रहको अंक हो । शनि ग्रह न्याय र संघर्षको कारक ग्रह हो । चन्द्रमा, राहु र शुक्रका प्रभावहरुको न्यायिक मूल्यांकन गर्ने जिम्मा शनि ग्रहले लिएको छ । यो वर्ष अवैध कार्यहरु जति मौलाए पनि अन्ततः त्यसको सजाय भोग्नैपर्ने छ । शनिले अपराधिक क्षेत्रको बोलवाला कम गर्न सघाउने छन् । यो वर्ष न्यायिक क्षेत्रमा विशेष प्रभाव रहने छ । रेल, जहाज सवारी साधनका क्षेत्रका घटनाहरु अधिक चर्चामा रहनेछन् । स्थापित अपराधिहरुको यो वर्ष पतनको संभावना नकार्न सकिन्न । राजनीतिक नेतृत्वमा उदासिनता आउने छ । उनीहरुको गलत कार्यको पर्दाफास हुनेछ । स्थापित नेताहरु सजायका भागिदार बन्नेछन् । समग्रमा २०२४ले आशाको सकारात्मक दियो बाल्न सफल हुनेछ भन्ने अपेक्षा राख्न सकिन्छ । सबैमा शुभकामना ।

Discover Interests