ज्योतिष शास्त्रमा होरालाई समय निर्धारणको एउटा महत्वपूर्ण पक्षका रुपमा लिइन्छ । ग्रह गणितको माध्यमबाट गरिने समय निर्धारणलाई सहज र सरल बनाउन होरालाई अपनाउने गरिन्छ । शुभाशुभ समय निर्णय गर्न होरा एउटा यस्तो सरल माध्यम हो जसमा सामान्य व्यक्तिले पनि आफ्नो कार्य अनुरुप शुभ समय तय गर्न सक्छ । व्यवहारिक जीवनमा होराको प्रयोगले मानिस आफ्नो अनुकूलतालाई बढाउन सक्छ । होरालाई तपाई हामी हरेकले सजिलै बुझ्न र उपयोग गर्न सकिन्छ ।
ज्योतिषीय गणनाका आधारमा प्रत्येक कार्यका लागि शुभाशुभ मुहुर्त निर्धारण गरिन्छ । तर, पञ्चांगका आधारमा समय निर्धारित छैन र कार्य गर्नै पर्ने अवस्थामा होराको प्रयोग उपयोगी मानिन्छ । पञ्चांग र ज्योतिषीय परामर्श लिन सहज नभएको अवस्थामा पनि तपाई हामी होरालाई प्रयोग गरेर कार्य प्रारम्भ गर्दा त्यसको परिणाम सकारात्मक हुन्छ । त्यसकालागि वैदिक परम्परामा होरा शास्त्रको प्रचलन छ । कार्य अनुसार होरा चयन गर्न सक्दा शुभ मुहुर्त जत्तिकै फलदायी हुने शास्त्रीय मान्यता छ ।
होरा हेर्न र जान्न कठिन छैन । सामान्य बार र समय बुझ्न सक्ने जो कसैले यसको सदुपयोग गर्न सकिन्छ । सामान्यतया दिनमा १२ होरा र रातमा १२ होरा गरी दैनिक २४ होरा हुन्छ । अथबा हरेक सूर्योदयबाट अर्को सूर्योदय नभएसम्मको अवधिलाई २४ होरामा विभाजन गरिएको हुन्छ । प्रत्येक घण्टामा होरा बदलिन्छ । ती प्रत्येक घण्टालाई प्रत्येक ग्रहले शासन गरेको हुन्छ । अर्थात् प्रत्येक घण्टामा होरा मालिक अलग अलग ग्रह हुन्छन् । सातै ग्रहले एक एक होरा भोग गरिसकेपछि पुनः दोहोरिन्छ । सात ग्रहका एक एक बार छन् । जस्तो आइतबार सूर्य, सोमबार चन्द्रमा, मंगलबार मंगल, बुधबार बुध, बिहिबार गुरु, शुक्रबार शुक्र र शनिबार शनि ग्रहको बार हो । होराको शुरुवात यीनै बारको मालिकबाट हुन्छ । सात बारको शुरुवातमा सम्बन्धित बारको मालिकले भोग गर्छ ।
सातबारका सात होराहरुको फरक फरक फल निर्धारण गरिएको छ । सात ग्रहहरुले आफ्नो आफ्नो फल प्रदान गर्छन् । प्रत्येक ग्रहको होरा विशेष कार्यका लागि शुभ फलदायी हुन्छ । जस्तो कि सूर्यको होरामा सरकारी कार्यकालागि शुभ मानिन्छ । जसमा सरकारी नोकरी, अन्तरवार्ता, आवेदन, उच्च पद धारण, पदाधिकारी भेट, सरकारी लाभका लागि निवेदन या माग गर्न, पदबहाली गर्न, शपथ लिन या सरकारसँग गरिने सम्झौतामा हस्ताक्षर गर्न शुभ मानिन्छ ।
सोम या चन्द्रमाको होरा अधिकांश कार्यका लागि शुभ मानिन्छ । होरा शास्त्रका अनुसार अन्य मुहुर्त नभेटिए चन्द्र होरामा गर्दा उपयुक्त हुन्छ । यो होरा विशेष गरेर चन्द्रसँग सम्बन्धित कार्य जस्तो जलसँग सम्बन्धित कामको शुरुवात, छिटो छिटो गरिने कार्य, चाँदीसँग सम्बन्धित काम, सामुद्रिक कार्य, जलयात्रा, होटल या खाद्य सामग्रीको काम शुभ फलदायी रहन्छ ।
मंगलको होरा साहसिक कार्यकालागि उपयुक्त मानिन्छ । सेना या पुलिससँग काम यो होरामा गर्दा लाभ मिल्छ भने अदालती कामको प्रारम्भ गर्न यो होरालाई उपयोगमा ल्याउन सकिन्छ । जुवा तास या सट्टा बजारमा जोखिम लिन, कसैलाई ऋण दिन, लडाई झगडाको अवस्थामा भाग लिन, युद्ध आदिमा सहभागी हुन मंगलको होरा उपयोगी रहन्छ ।
बुधको होरा आफैमा व्यापारिक होरा हो । व्यापार शुरु गर्न, पसल शुरु गर्न, कुनै पनि व्यापारिक कार्यको शुरुवात गर्न, व्यापारिक सम्झौतामा हस्ताक्षर गर्न बुधको होरा उपयोग गर्नुपर्छ । यो होरालाई लेखन, प्रकाशनका काम शुरुवात गर्न तथा अन्य विद्यासँग सम्बन्धित काम गर्न प्रयोगमा ल्याउँदा लाभदायी रहन्छ ।
गुरुको होरा विवाहसँग सम्बन्धित निर्णय गर्नु परेमा अत्यन्तै उपयोग हुन्छ । गुरु उच्च व्यक्तित्व हुने हुनाले आफ्नो कामका लागि उच्च व्यक्तित्व भेट्न र माग गर्न, ज्ञानसँग सम्बन्धित कार्य गर्न, ध्यान, पुजा या मन्दिर जान, धार्मिक ग्रन्थ र सामग्रीहरु संकलन गर्न गुरुको होरालाई पच्छ्याउँदा शुभ हुन्छ ।
शुक्र भोग विलासको कारक ग्रह हो । शुक्रको होरामा भोग विलास, विलासिताका सामग्री खरिद गर्न, मनोरञ्जनका कामहरु शुरु गर्न, गर गहना र नयाँ वस्त्र खरिद गर्न, प्रयोग गर्न शुक्रको होरा अत्यन्तै शुभ मानिन्छ । यो होरा सवारी साधन खरिद गर्न, चलचित्र हेर्न या यससँग सम्बन्धित कार्य आरम्भ गर्न, रमाइलोको लागि यात्रा गर्नका लागि उपयोग गर्दा शुभ फलदायी हुन्छ ।
शनिको होरा शनिजन्य कार्यका लागि लाभदायी मानिन्छ । उद्योग खोल्न यो होराको सदुपयोग गर्न सकिन्छ । फलामसँग सम्बन्धित कार्य गर्न, वाहन खरिद गर्न र भवन निर्माण शुरुवात गर्न शनिको होरा उपयोगी मानिन्छ । यसै होरामा कारखानाहरु शुरु गर्दा शुभ मुहुर्त जत्तिकै उपयोग हुने शास्त्रीय मान्यता छ ।
यी सातै होराको उपयोग गर्न प्रत्येक होराको ज्ञान हुन आवश्यक छ । जसमा आइतबारको सूर्योदयबाट होरा गणना गर्दा पहिलो होरा सूर्यको हुन्छ । सोमबार पहिलो होरा चन्द्रमाको हुन्छ भने जुनबार हो त्यही बारको होरा पहिलो हुन्छ । बार अनुसारको पहिलो होरा भएपछि दोश्रो होरा छैंटौं बारको मालिक हुन्छ । जस्तो कि आइतबार सूर्यको होरा पहिलो भने दोश्रो होरा शुक्रको, तेश्रो होरा बुधको, चौथो होरा चन्द्रको, पाँचौ होरा शनिको, छैटौ होरा गुरुको र सातौं होरा मंगलको हुन्छ । त्यसपछि पुनः सूर्यको होराबाट शुरु हुन्छ ।
पहिलो सूर्य, दोश्रो शुक्र, तेश्रो बुध, चौथो चन्द्र, पाँचौ शनि, छैटौ गुरु, सातौं मंगल त्यसपछि पुनः आठौं सूर्य, नवौं शुक्र, दशौं बुध, एघारौं चन्द्र, बाह्रौं शनि, तेह्रौ गुरु, चौधौं मंगल, पन्ध्रौं सूर्य, सोह्रौं शुक्र, सत्रौं बुध, अठारौं चन्द्र, उन्नाइसौं शनि, बिसौ गुरु, एक्काइसौं मंगल, बाइसौं सूर्य, तेइसौं शुक्र र चौविसौं बुधको होरा हुन्छ ।
जसरी २४ घण्टाका २४ होरा आइतबार सूर्यबाट शुरु भएर बुधमा सकियो त्यसरी नै सोमबारको होरा चन्द्रमाबाट शुरु भएर गुरुमा समाप्त हुन्छ । मंगलबार मंगलबाट शुरु भएर शुक्रमा, बुधबार बुधबाट शुरु भएर शनिमा, विहीबार गुरुबाट शुरु भइ सूर्यमा, शुक्रबार शुक्रबाट शुरु भई चन्द्रमा र शनिबार शनिबाट शुरु भई मंगलमा समाप्त हुन्छ ।
यसरी प्रत्येक दिनको प्रत्येक घण्टामा फरक फरक ग्रहको होरा हुन्छ भने फरक फरक होरा फरक फरक कार्यका लागि उपयुक्त या शुभ हुन्छ । आफ्नो काम र प्रकृति अनुकूल होराको उपयोग गरेर त्यसको अधिकतम् प्रतिफल लिन सकिन्छ । होरालाई जानौं, बुझौं र प्रयोग गरौं ।